सुर्खेत । २०७० सालको निर्वाचन पछिको पराजय अनि त्यसपछि न त पार्टी, न सरकारी पद धारण गरेको अप्ठ्यारो अवस्थामा पुगेको बेला २०७२ सालमा सरकारले राज्यको पुनर्संरचना गरी प्रदेशहरूको सीमा विभाजन गर्यो। दोस्रो संविधानसभाले देशमा ६ वटा प्रदेश बनाउँदै सुर्खेतलाई सुदूरपश्चिम प्रदेशमा गाभ्ने निर्णय गर्यो।
सरकारले गरेको पुनर्संरचनाको निर्णय विरुद्धमा सुर्खेतको वीरेन्द्रनगरमा ठुलो आन्दोलन सुरु भयो। नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको संयुक्त संयन्त्रले राज्यको पुनर्संरचना गरेकोले सुर्खेत जिल्ला पार्टीहरू माउ पार्टी (केन्द्र) र सरकारका विरुद्धमा बाफ फाल्ने अवस्थामा थिएनन्।
१५ जिल्लाको सदरमुकाम (क्षेत्रीय सदरमुकाम) भइरहेको अवस्थामा सुर्खेतलाई सुदूरपश्चिममा गाभेर सदरमुकाम पनि उतै सुदूरपश्चिम तिर गाभ्ने षड्यन्त्रका विरुद्धमा सुर्खेतमा कसैले नसोचेको (अकल्पनीय) आन्दोलनको ज्वारभाटा उठ्यो। सुरुमा मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापन गर्ने र त्यही अध्ययनरत विद्यार्थीहरूको हुलले मप विश्वविद्यालय हुँदै वीरेन्द्रनगर बजार परिक्रमा गर्यो।
याे हेर्नुहाेस् –लामो राजनीतिक विरासत बोकेका कँडेलको मुख्यमन्त्री बन्ने सपना पुरा
सुर्खेतमा यो घटनाले ठुलो हडकम्प मच्चियो। सुर्खेतका राजनीतिक दलहरू आफ्नै नेताहरूले हस्ताक्षर गरेर प्रदेश विभाजन गरेकोले तत्काल विरोधमा आउन सकेनन्। जनस्तरमा उठेको तीव्र आक्रोश भिडन्तमा परिणत भयो। निर्वाचनको मत गणना हुँदै गरेको झुप्रा खानेपानीमा ढुंगामुढा गरेर अराजकतातर्फ मोडिएको भीडलाई प्रहरीले हस्तक्षेप गरेपछि सिधै गएर जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्यो।
निरीह अवस्थामा पुगेको जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेपछि सुर्खेतलाई सुदूरपश्चिममा गाभेको भन्दै ठुला नेताहरूको घर खोज्दै हिँडेको भीडले काँग्रेस नेता पूर्णबहादुर खड्काको घरमाथि पहिलो प्रहार गर्यो। खड्काको घर सुरक्षा गर्न तैनाथ सुरक्षा फौजकाबिच दोहोरो भिडन्त हुँदा भेरी एफएम र खड्काको घरकोबिच भाग रण मैदान बन्यो। दर्जनौँ अश्रुग्याँस, हवाई फायर र अन्तिममा गोली बर्साउन थालियो।
केही समय संयमित बनेको प्रहरी आफ्नै गाडीमा आगो लागेपछि हर्कदमा आयो। खड्काको कम्पाउन्ड भित्र रहेको परालको टौवामा आगो लगाउन जाँदै गर्दा टिकाराम गौतमलाई प्रहरीले गोली हान्यो। उनको घटनास्थलमै मृत्यु भयो। रेडियो सुर्खेतमा कार्यरत एक पत्रकार र अन्यलाई व्यक्तिहरूलाई पनि गोली हानियो।
घटनास्थलमा अलि ढिला पुगेका हामी गोली लागेकाहरूको उद्धार गर्न र थप हताहती नहोस् भनेर फिल्डमै खटिरह्यौ। घाइतेहरूलाई देउती अस्पताल पुर्याउने गरिरह्यौ। खड्काको घर तोडफोड र आगजनी पछि फर्केको भीडले हटिया बजारमा रहेका एमाले, माओवादी र काँग्रेस पार्टी कार्यालयहरू जलाउन थाल्यो। आन्दोलनकै क्रममा धमला चोक नजिक यामबहादुर बिसीलाई गोली लाग्यो र उनी सहिद भए। मंगलगढीमा गोपालसिंह रजबारले र जुम्लामा हरिबहादुर कुँवरले साहदत्त प्राप्त गरे।
त्यो दिन रण मैदान बनेको वीरेन्द्रनगर रातभर सुतेन। सुर्खेतमाथि गरेको अन्यायका विरुद्धमा थप रगत बनाउन जनता तयार भए। सूर्यले पूर्वी क्षितिज छुन बित्तिकै चोक चोकबाट स्वस्स्फूर्तरुपमा लाठी मुङ्ग्रा बोकेका आन्दोलनकारीहरूले वीरेन्द्रनगरका अधिकांश सडक कब्जा गरिसकेका थिए। लगातार ९ दिनसम्म आन्दोलन भयो। उतिखेर धेरै राष्ट्रिय मिडियाहरूले सुर्खेतलाई हेरेका थिएनन्।
एभेन्यूज टेलिभिजनले घटनालाई विशेष रूपले हेर्दै पत्रकार दुर्गा बिसीको नेतृत्वमा एक टोली सुर्खेत पठायो। मंगलगढी चोक नजिक रहेको होटेल अशोकामा बसेको उक्त टोलीले छत र मंगलगढी आसपासको एरियाबाट आन्दोलनको दिनभर लाइभ प्रसारण गरिरह्यो। पछि कान्तिपुर, न्युज ट्वान्टी फोर लगायतले पनि समाचारको राम्रो कभरेज गरे।
जनस्तरबाट हामीले गर्ने आन्दोलन र सुर्खेतका राजनीतिक दलहरूले गर्ने कार्यक्रमहरू छुट्टाछुट्टै थिए। राजनीतिक दलहरूप्रति आम जनता विश्वस्त थिएनन्। हाम्रो आन्दोलनमा भने जनताको व्यापक सहभागिता हुने गर्थ्यो। पार्टी र उवासंघले गर्ने आन्दोलनलाई हामीले सरकारी आन्दोलन भन्ने गर्थ्यौ। हामी सहभागी जुलुस आएपछि सरकारी आन्दोलनकारीहरूले बाटो छाडिदिन्थे।
उनीहरू सरकारले गरेको पुनर्संरचनाको विरोध स्वरूप सडकमा बसेर नाचगान गरिरहेका भेटिन्थे भने हामीहरू निषेधित क्षेत्र तोड्ने र मुठभेडमा जाने गरिरहन्थ्यौ। रसियन क्रान्तिको वेला लेनिनका लालसेनाहरुले जस्तो आफूलाई गर्वको महसुस गर्थे हामीहरू पनि आफूहरूलाई एक क्रान्ति योद्धा ठान्दै आन्दोलनको ज्वारभाटा निकालिरहेका थियौँ। धेरै पटक गोलीको निशानामा परे पनि संयोगले हामीले भने मृत्युबरण गर्नु परेन।
हामीले अखण्ड मध्यपश्चिमको नारा लगाउँदै आन्दोलन गरेका थियौँ। आन्दोलनका क्रममा मंगलगढी चोकलाई सहिद गोपालसिंह रजबार चोक, वीरेन्द्रचोकलाई सहिद टिकाराम गौतम चोक र भेरी एफएम पूर्वतिरको अहिलेको धमला चोकलाई यामबहादुर बिसी चोक नामाकरण गरेर अखण्ड मध्यपश्चिम प्रदेशको बोर्ड राखेका थियौ।
साङ्केतिक रूपमा हामीले मंगलगढी चोकमा अखण्ड मध्यपश्चिम प्रदेशको संसद् बैठक राखेर प्रदेश राजधानी वीरेन्द्रनगर पास गरेका थियौ। जनस्तरबाट बनेको साङ्केतिक संसद्को सभामुखको भूमिका मैले निभाएको थिए। यी माथिका सबै अभियानमा बुधवार शपथ लिएका एमाले नेता एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको दह्रो साथ थियो।
जनस्तरमा बनेको आन्दोलनको सुरुवाती दिनदेखि नै नेतृत्व गरेका कँडेलले जनस्तरबाट बनेको कार्यक्रमलाई नेतृत्व र साथ दिएका थिए। ३ दिन हुँदासम्म नेता नभेटेपछि उनलाई आन्दोलनको नेतृत्व गरिदिन सडकमा हामीले ल्याएको हो। सडक कब्जा र प्रतिरोध गर्ने योजना हामीले बुनेको हो। ९ दिनको आन्दोलनपछि हामीले ४ जनालाई सहिद बनाएर कर्णाली प्रदेश नामक छुट्टै र कान्छो प्रदेश त प्राप्त गर्यौ।
तर, हामीले अपेक्षा गरेबमोजिमको नेतृत्व प्रदेशले पाएन। यसअघि बनेका कुनै पनि मुख्यमन्त्रीको कर्णाली प्रदेश स्थापनामा ठुलो भूमिका देखिँदैन। अर्काले लडेर ल्याएको प्रदेशमा उनीहरूले मात्रै राज गरे। प्रदेशको विकास र यसको उन्नतिका लागि उनीहरूको भूमिका राम्रो देखिएन। अहिले चोक चोकमा यही बारेमा चर्चा सुरु भएको छ। कँडेलबाट यो भीडले सुधारको अपेक्षा गरेको छ।
अब कर्णाली प्रदेश स्थापनाको आन्दोलनको नेतृत्व गरेका जन-कमाण्डरको हातमा कर्णाली प्रदेशको शासन सत्ताको बागडोर आइपुगेको छ। कँडेलले प्रदेश सरकारका काम कारबाहीप्रति जुन प्रकारले असन्तुष्टि व्यक्त गर्ने गर्थे त्यसको दुई गुणा असन्तुष्ट हामीमा पनि थियो। हामीले ज्यानको बाजि लगाएर लडेर ल्याएको प्रदेश लथालिङ्ग पारेको आरोप महेन्द्र शाही, जीवन शाही र राजकुमार शर्माहरूलाई निरन्तर लगाइरह्यौ।
अब आजका दिनबाट यो खबरदारी यामलाल कँडेलतिर हुनेछ। हामी खरो रूपमा बोल्छौ किनकि माथि नै भनिसकिएको छ कि अहिले हामीमा रुसमा जारशाहीको अन्तपछि लेनिनका लालसेनामा देखिएको जस्तो आत्मविश्वास र आशा पलाएको छ। यो आशा र विश्वासलाई नयाँ बनेको सरकारले कत्ति पनि धोका नदिने गरी काम गर्नेछ।
पछिल्ला दिनहरूमा राजनीतिक दलहरू र यो सिस्टमप्रति नै जनतामा वितृष्णा जाग्दै गएको छ। पद र पैसाको लागि मात्रै नेताले राजनीति गर्ने गरेको जनताको बुझाइमा मपनि लगभग सहमत छु। जनजीविकाको सवालमा उनीहरूको पटक्कै ध्यान छैन। यही सोचका कारण बुधवारको मुख्यमन्त्रीको शपथ कार्यक्रममा पनि नजाने भनेर बसेको थिए। पछि सोचे, अरू जस्तै मुख्यमन्त्री यो पटक बनिरहेको छैनन्।
यो पटक त प्रदेश आन्दोलनका मुख्य कमान्डरले नै मुख्यमन्त्रीको शपथ लिँदै थिए। यही सोचेर शपथ स्थलतर्फ गए। स्टेजमै गएर मुख्यमन्त्री कँडेललाई शुभकामना पनि दिएर आए। जनताको आशा र विश्वासमा खरो उत्रन सुझाव पनि दिएर आए।
नयाँ मुख्यमन्त्रीलाई मेरा सुझावहरू यस्ता छन्
१) कर्णाली प्रदेशमा राम्रा कर्मचारी आउनै चाहँदैनन्। यही प्रदेशका सक्षम र विज्ञ कर्मचारीहरू अन्यत्र कार्यालयहरूमा काम गरिरहेका छन्। अब तपाईँले कर्णाली प्रदेश बनाउने गरी आउन सार्वजनिक आह्वान गर्नुस्। ल्यापटपमा काठमाडौँमा बसेर खेल्ने भन्दा कर्णाली बुझेका विज्ञहरूको समूह बनाई नयाँ योजना बनाउनुस्!
२) भ्रष्टाचारविरुद्धमा शून्य सहनशीलता अपनाई विभिन्न कार्यालयहरूले बाढ्ने गरेको अनुदान बन्द !
३) कृषि र पशुपालनको विकास गर्न विषादी परीक्षण र भारतीय कुखुरा आयातमा कडाइ गर्नुस् ! एक गाउँ एक कृषि र भेटेरिनरी प्राविधिक कार्यक्रम ल्याउनुस्। उनीहरूलाई फिल्डमै कृषकसँग बस्ने गरी व्यवस्था मिलाउनुस् ! रैथाने बालीको उत्पादनमा वृद्धि र यसको ब्राण्डिङ् गर्नुस् ! सिँचाइ, मल, बीउ र कृषि औजारको व्यवस्था गरिदिनुस् !
४) कर्णाली प्रदेशको कायापलट पर्यटनको विकासले हुन्छ। पर्यटनको विकासले सबै क्षेत्रको विकास पनि हुन्छ। यसर्थ पर्यटनको ठुलो बजार भारतको विहार, युपी, दिल्ली लगायतका प्रदेश सरकारहरूसँग भगिनी सम्बन्ध कायम गरी त्यहाँबाट कर्णालीमा लाखौँ पर्यटक ल्याउने योजना बनाउनुस् !
लखनउबाट हिँडेको एउटा पर्यटक ५ घण्टामा सडक मार्गबाटै वीरेन्द्रनगर पुग्न सक्छ। ती राज्यहरूमा कर्णाली प्रदेश सरकारको समन्वयमा कम्तीमा १ सय स्टलहरू तत्काल खोल्नुस् ! ती ठाउँबाट कर्णालीको एडभेन्चरस, प्योरिटी, नेचुरालिटी र व्युटिफिकेशनको व्यापक प्रचार गर्नुस्! भारतीय मिडियाबाट कर्णालीका मुख्य पर्यटकीय स्थलको प्रचार गर्ने व्यवस्था मिलाउनुस् !
त्यहाँबाट पर्यटकहरू सिधा वीरेन्द्रनगर आउन मिल्ने गरी बस सञ्चालन गर्ने व्यवस्था मिलाउनुस् ! भारतीय पत्रकार,चलचित्रका नायक नायिका, गायक गायिकाहरूलाई कर्णाली बोलाई यस क्षेत्रको प्रचार गर्नुस्! केन्द्र सरकारको मुख नताकि हरेक वर्ष फ्रिज भएर जाने बजेटबाट कर्णाली कोरिडोर र भेरी कोरिडोर दुईलेनको पक्की बनाउनुस् !
रारासम्म पिच, सुर्खेतबाट मानसरोवर जानेगरि स्थल र हवाई सेवाको च्यानल फिट गर्नुस् १ कर्णालीका सबै जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुस् !
५) कर्णालीमै जडीबुटी प्रशोधन उद्योग खोल्ने मोडिलाटी तयार गर्नुस् !
६) जिल्ला सदरमुकाम जोड्ने सडक र पर्यटकीय क्षेत्र जाने सडकहरू पक्की गराउनुस् !
७) कर्णाली प्रदेशमा रहेका मृगौलापीडित र अन्य यस्तै प्रकारका रोगग्रस्त नागरिकहरूको सम्पूर्ण उपचारको निःशुल्क ग्यारेन्टी गर्नुस्!
८) कर्णाली सरकारले प्रदेशभर विद्युत् पुग्ने गरी कम्तीमा एउटा जलविद्युत आयोजनाको सुरुवात गरोस् !
९) तपाईँको प्रतिष्ठासँग जोडिएको सुर्खेत विमानस्थल विस्तारको काम तत्काल सुरु गरिहाल्नुस् !
१०) यो आवमा फ्रिज जाने निश्चित भएका बजेट रकमान्तर गरी सदरमुकाम वीरेन्द्रनगरलगायतका ठाउँमा नाला बनिसकेका सडकहरू पिच गरिदिनुस् !
११) मुख्य काम तपाईँमा कम्युनिस्ट चेत र क्रान्तिकारिता छ भन्ने देखाउन गरिब, निमुखा र असहायहरूका लागि काम गर्नुस् १ उनीहरूलाई स्वरोजगार बनाउँदै गाँस, वास र कपासको ग्यारेन्टी गरिदिनुस् !
१२) सिमेन्ट, पत्थर जस्ता ठुला उद्योगहरू स्थापनाका लागि प्रोत्साहन र सहजीकरण गरिदिनुस् !
माथि उल्लेखित कामहरूको सुरुवात मात्रै गरिदिनु भयो भनेपनि कर्णाली प्रदेश स्थापना गर्न सहिदहरूले बगाएको रगत र हामीहरूले उतिखेर खेर फालेको पसिनाको मूल्य हुनेछ। नत्र, उही पूर्व मुख्यमन्त्रीहरू महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही र राजकुमार शर्माको जस्तै एउटा फोटो झुन्ड्याउनु बाहेक कर्णालीका जनताको हातलागी केही हुनेछैन।
लामो राजनीतिक विरासत बोकेका कँडेलको मुख्यमन्त्री बन्ने सपना पुरा