कर्णालीको लोक संस्कृति कति छ, कति छैन ?

खबरदृष्टि सम्वाददाता १५ असार २०८१, शुक्रबार २१:०२


सुर्खेत । ‘नेपाली लोक संस्कृतिमा कर्णालीलाई हटाइदियो भने लोक संस्कृति नै बाँच्दैन । किनकि त्यसको जननी कर्णाली हो’ लोक साहित्यका अध्येता तथा लेखक ओम रिजालले भने, ‘यसलाई हटाइदिए न भाषा, इतिहास बच्छ, न त कला, संस्कृति नै बच्दछ ।’ मारुनी नेपालका सबै जिल्लामा प्रचलनमा छ । लोक साहित्यको अध्ययन गर्दा मारुनीभित्र कृष्ण गाथा र राम चरित्र पनि छ ।

यो दैलेखतिरको मारुनीभित्रको कुरा हो । वीरेन्द्रनगरमा जारी प्रथम कर्णाली साहित्य सम्मेलनमा बोल्दै लेखक रिजालले सुनाए, ‘कर्णाली विभिन्न जातिको पनि आदिभूमि हो । अहिले धेरै मान्छेहरू कुल देवताको खोजीमा कर्णालीमा आउँछन् ।’ प्रथम कर्णाली साहित्य सम्मेलनको पहिलो दिन शुक्रबार ‘कर्णालीको संस्कृति कति छ, कति छैन ?’ सत्रमा रिजालले कर्णालीको लोक संस्कृति र यहाँको भाषा साहित्यको वैभवका बारेमा बताए ।

उनले कर्णालीको मस्टो संस्कृतिको विषयमा अझ गहिरो गरी अध्ययन गरिनुपर्ने समेत उल्लेख गरे । उनले भने, ‘कर्णालीको लोक संस्कृतिले सबैलाई एकतामा बाँध्छ । फुटेको जुटाउने संस्कृति पनि कर्णालीमै छ ।’ उनले लोक संस्कृति लेखेर नबच्ने बताए । जीवेन्द्र देव गिरी, नरहरिनाथलगायत थुप्रै विद्वानहरूले कर्णालीको लोक संस्कृतिका बारेमा लेखे पनि बच्ने भनेको परम्परा रहेको रिजालको भनाइ छ । कर्णालीको लोक संस्कृतिलाई जीवित राख्न यसको पुस्तान्तरण आवश्यक रहेको लेखक रिजालको ठहर छ ।

‘यो पुस्ता सकियो भने अर्को पुस्तामा मागल बच्दैन । मारुनी हस्तान्तरण नभए त्यो बच्दैन । धमारी बचाउन पनि गुरुहरूले अर्को पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ’ लेखक रिजालले लोप हुँदै गएको कर्णालीको लोक संस्कृति बारे चिन्ता गर्दै भने, ‘लेखकले त बचाउ है भनेर झकझक्याउने हो । यसको संरक्षणमा राज्यले विशेष ध्यान दिन आवश्यक छ ।’ कर्णालीलाई कर्णालीले अझै पनि लेख्न नसकेको रिजाल बाउँछन् । कर्णालीका बारेमा कर्णालीमै मान्छेहरूले पर्याप्त नलेख्दा बाहिरबाट आएर लेख्ने व्यक्तिहरूले कहिले कतै सही नहुँदा भ्रम पनि परेको उनी बताउँछन् ।

राज्यले पनि यो विषयमा खासै ध्यान दिन नसकेको उनको ठहर छ । पछिल्लो समय पश्चिमा संस्कृति अंगाल्दा आफनौ लोक संस्कृति हराउँदै गएको रिजालको बुझाइ छ । ‘छैठ खेल्न छाडेर बेबी सावरमा गएको छ, यही हो हाम्रो संस्कृति रु हामीले हाम्रा संस्कृतिलाई रुढीवादी भन्यौं, देउताका पैठहरू छाडेर डिस्कोवरतिर हिड्यौं,’ उनले भने, ‘हामीलाई आफ्नो भाषा बोल्दा पाखेको अनुभूति हुन्छ । बच्चाले अंग्रेजी बोल्दा गर्वको अनुभूति हुन्छ । यसरी हाम्रो संस्कृति कसरी बाँच्छ ?’

गाउँ–गाउँमा आएका सिंहदरबारले पनि आफ्नो क्षेत्रको भाषा, कला, संस्कृतिको संरक्षणका विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘के दुई रेसा सडक खन्नु मात्रै विकास हो ? के हाम्रा पुर्खाले छोडेको संस्कृतिको विकास विकास होइन ? यो कुरा जबसम्म घरआगनका सिंहदरबारले बुझ्दैनन्, तबसम्म काठमाडौँले बुझ्दैन’ स्थानीय सरकारलाई प्रश्न गर्दै रिजालले भने । रिजालसँगै वक्ताको रूपमा थिए अर्को साहित्यका अध्येता तथा लेखक मोतीराज बम उनले पनि यो प्रश्न गम्भीर रहेको बताए ।

‘कर्णाली लोक संस्कृति र लोक साहित्य हराउँदै गएको छ । संस्कृति हाम्रो पहिचान, स्वाभिमान हो,’ लेखक बमले भने, ‘आजका युवाहरूले यो कुराको संरक्षण गर्नुपर्छ । संस्कृतिलाई सम्पदाको रूपमा लिनुपर्छ ।’ पछिल्लो पुस्ताले चासो नदिएकै कारण कर्णालीको लोक संस्कृति हराउँदै गएको उनको ठहर छ । मानव विकाससँगै संस्कृतिको विकास पनि गर्न अपरिहार्य रहेको लेखक बमले बताए ।

उनले भाषा र सभ्यताको उद्गम थलो कर्णालीको लोक संस्कृति बृहत् रहेको र यसलाई अझै उत्खनन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रमको सहजीकरण लेखक तथा लोक साहित्यका अध्येता नारायण तिमिल्सेनाले गरेका थिए ।

Next Post

आज धान दिवस : कर्णालीमा सकियो ४७ प्रतिशत रोपाइँ

१५ असार २०८१, शुक्रबार २१:०२
कुलेन्द्र शाही, सुर्खेत । आज (शनिवार) २१ औँ धान दिवस कर्णालीसहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । देशका लगभग सबै ठाउँमा आज (शनिवार) सरकारी तवरबाटै धान दिवस मनाइने गरिन्छ । किसानहरू खेतबारीमा व्यस्त हुन्छन् । ‘मानो रोपेर मुरी फलाउने’ सिजनका रूपमा रहेको बर्खे बाली धान रोप्नमा किसानहरू व्यस्त रहेका छन् […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031