सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा प्रतिजैविक प्रतिसोध सम्बन्धी सरोकारवालाहरूसँग एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजनामा शनिवार प्रतिजैविक प्रतिरोधले मानव, पशुपन्छी र वातावरणमा पार्ने असरहरूबारे नागरिकलाई सचेतना जगाउन एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा औषधिको समुचित प्रयोग, राष्ट्रिय नीति तथा कार्यान्वयनको अवस्था, प्रतिजैविक प्रतिरोध, औषधिको अनुचित प्रयोग, सिफारिस गरिएको नियमनकारी हस्तक्षेप, प्रतिरोधका कारणहरू प्रतिजैविकले पशुपन्छीमा पर्ने असर, यसको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा छलफल गरिएको थियो ।
प्रतिजैविक अर्थात् एन्टिमाइक्रोबियलको जथाभाबी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर सङ्क्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, आफूखुसी औषधि प्रयोग गर्ने चलन लगायतले प्रतिजैविक प्रतिरोध हुने गरेको फार्मेसी विज्ञ प्रविन तिमिल्सेनाले बताए । उनले राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले प्रतिजैविक प्रतिरोधलाई जनस्वास्थ्यको चुनौतीका रूपमा व्याख्या गरेको बताएका थिए ।
यस्तै कार्यक्रम सहभागीहरूले राज्यले निजी क्षेत्रका व्यवसायलाई उपेक्षा गरेको गुनासा गरेका थिए । राज्यले उपेक्षा गरेको भन्दै उनीहरूले व्यवसायीहरूको मनोबल उच्च नभएको बताए । यसका लागि राज्य संवेदनशील हुन आग्रह गरे । जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्राविधिक शाखा प्रमुख उदय बिसीले गरेका थिए ।