
सुर्खेत । कर्णाली प्रदेशका मुख्मयन्त्रीको काँधमा ६ मन्त्रालयको जिम्मेवारी परेको छ । प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सोमवार पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामा दिएपछि एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलको काँधमा ६ मन्त्रालयको जिम्मेवारी परेको हो ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको सहमति बनेसँगै सोमवार माओवादीबाट मन्त्री भएका चार मन्त्रीहरुले सामुहीक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री कार्यालयसहित कँडेलको काँधमा ६ मन्त्रालयको जिम्मेवारी थपिएको हो । माओवादीबाट मन्त्री बनेका चार जनाले गत वैसाख १८ गते पद तथा गोपनियताको सपथ लिएका थिए ।
मुख्यमन्त्री कँडेलले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि आफैसँग राखेका थिए । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रालयमा वीरबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा रणसिंह परियार थिए ।
माओवादीका मन्त्रीहरुले राजीनाका साथै समर्थनसमेत फिर्ता लिइसकेका छन् । यो सँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश सरकार स्थापनापछि पहिलो पटक प्रतिपक्षमा पुगेको छ । संघीयता कार्यान्वयनको सुरुवातबाटै कर्णालीको बागडोर सम्हालेको माओवादी निरन्तर सत्ताको पेरिफेरीमा रहँदाको श्रङखलामा सोमबारबाट भने साढे छ वर्षमा प्रतिपक्षको बेञ्चमा पुगेको हो ।
प्रदेश संरचना कार्यान्वयन भएदेखि हालसम्म कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए । माओवादीले मुख्यमन्त्री कँडेललाई दिएको समर्थन फिर्ता लिइसक्दा पनि नेपाली काँग्रेसले सरकारमा सहभागि हुनेबारे कुनै पनि छलफल गरेको छैन् । यसले गर्दा मुख्यमन्त्री कँडेल अल्पमतमा परेका छन् ।
सरकारमा सहभागिताबारे काँग्रेसभित्र अन्यौलताले कँडेलेको काँधमा ६ मन्त्रालयको जिम्मेवारी थपिएको छ । गुटभित्र कुरा नमिल्दा सरकारको सहभागिताबारे अन्यौलता देखिएको स्रोतले जनाएको छ । काँग्रेसभित्र सरकारमा कसलाई पठाउने भन्ने विषयमा सामान्य छलफल भएपनि औपचारिक छलफल नभएको काँग्रेस स्रोतको भनाइ छ ।
‘हामीले सामान्य छलफल गरेका छौँ ।’ सबैले मन्त्री बन्नको लागि हानथाप गर्दा पनि केही समस्या भएको छ ।’ काँग्रेस स्रोत भन्छ, ‘दलको नेता पनि निलम्बनमा हुनुहुन्छ । अब केन्द्रको निर्णयमा हामी बसेका छौँ । केन्द्रले केही निर्णय गरेर छिट्टै टुंगो लगाउँछ होला’ पहिले मन्त्री भइसकेकाभन्दा नयाँलाई मन्त्री बनाउन खोज्दा पुरानाले उक्त कुरालाई नमान्दा पनि सरकारमा सहभागि हुन समस्या भएको स्रोतको भनाइ छ ।
पार्टीको नेतृत्वबाट आउने निर्देशनका आधारमा आफूहरू अगाडी बढ्ने नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत विष्ट बताउँछन् । नेपाली काँग्रेसका संदीय दलका नेता जीवन बहादुर शाहीलाई वाइडबडी काण्डमा मुद्दा लागेपछि उनी निलम्बित छन् । उनी निलम्बित भएकाले पनि काँग्रेसमा मन्त्री छान्नमा सकस भएको स्रोतको भनाइ छ ।
सरकारमा सहभागी हुने विषयमा मंगलवारदेखि छलफल शुरु भएपनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए । ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका १० जना सांसद छन् । नेपाली काँग्रेसका हाल १४ जना सांसद छन् । प्रदेश सभामा माओवादीका १३, समाजवादीका १ र राप्रपाका १ जना सदस्य छन् ।