
फाइल तस्बिर
काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका-४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा हजुरआमा ७० वर्षीया बुसुना र ४ वर्षीया नातिनीको मृत्यु भएको गाउँपालिका अध्यक्ष धन बहादुर पुन मगरले उकेरालाई जानकारी दिए।
उनका अनुसार साँझदेखिको अविरल वर्षा भएपछि पहिरो गएको हो। पहिरोमा घर पुरिएपछि राति नै प्रहरीलाई खबर गरिएको थियो। पहिरो झर्ने क्रम नरोकिएपछि राति उद्धार हुन नसकेको अध्यक्ष मगरको भनाइ छ।
‘पहिरो नरोकिएपछि राति शव निकाल्न सकिएन,’ उनले भने, ‘अहिले विहान दुवै जनाको शव निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ।’ परिवारमा चार जना बस्ने भए पनि देउसिंह र उनकी पत्नी भने लेकमा भएको गोठमा थिए। गाइबस्तु लेकमै भएकाले उनीहरू लेकको गोठमा बस्ने गरेका थिए।
प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार