
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रंगशालाको काम ९० प्रतिशत सम्पन्न भएको छ । २० मंसिर ०७८ मा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम ९० प्रतिशत काम सम्पन्न भएको हो । खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन १०० दिनको काउन्ट डाउन सुरु भएको जानकारी दिए ।
उनले समय थोरै भएको र काम धेरै भएको हुँदा दिन गनेर काम गर्नुपर्ने अवस्था आएको बताए । ‘हामीस्ँग समय कम छ, काम धेरै छ, अब त मिनेट मिनेट, घण्टा घण्टा गनेर काम गर्नुपर्ने छ ’ उनले भने । उनले पूर्वाधारलाई पहिलो प्राथमिकता राखेर ९० प्रतिशत काम सम्पन्न भएको र असोजसम्म सबै सम्पन्न गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनकाअनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीमा २४ वटा खेल आयोजना गर्न सकिने प्रस्ताव राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको उनले बताए ।

कर्णालीका दशै जिल्ला र हुम्लामा पनि हक्की खेल खेलाउने निर्णय गरिएको छ । सचिव सञ्ज्यालले पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम भइरहेको बताए । कर्णालीका अन्य जिल्लामा पनि केही खेलकुद पूर्वाधारका काम भइरहेको उनको भनाइ छ । उनले निर्धा।ित समयमै काम सक्ने दावी गरेका छन् । तर धेरैले कर्णाली रंगशाला निर्माणको काम समयमै नहुने बताउँदै आएका छन् ।
दशौँ राष्ट्रिय खेलकुद आउन अब एकसय दिन बाँकी छ । समय एक सय दिन बाँकी हुँदा पनि काम धेरे रहेको र निर्धारित समयमै काम सम्पन्न नहुने त्यहाकै कर्मचारी बताउँछन् । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । तर, परिषद्का सदस्य–सचिव सञ्ज्याल खेल पूर्वाधारको अभावका कारणले खेलकुद प्रतियोगिता नरोकिने बताउछन् ।
यता सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलकुदले कर्णालीलाई चिनाउने गरी काम भइरहेको बताएका छन् । उनले समयमै निर्माणकार्य सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहहरू लागिपरेको बताए ।
गीत सार्वजनिक, लोगो र मस्कट अलमलमै
कर्णाली प्रदेश खेलकुद परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । शनिवार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शनिबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको छ ।
गीत सार्वजनिक गरिएको भएपनि लोगो र मस्कट भने अलमलमै रहेको छ । सुरुमा पत्रकारलाई खेलकुद प्रतियोगिताको लोगो (प्रतीक चिन्ह) र मस्कट सार्वजनिक गर्ने भनेर सुचना दिइएको थियो । तर अन्तिममा गीत मात्रै सार्वजनिक गरिएको हो ।
२०७९ कात्तिक ३ गते पोखरामा बसेको राखेपको बैठकले कणालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र नारा राराबाट सार्वजनिक गर्ने निर्णय गरेको थियो । राखेपको निर्णय अनुसार नै शनिवार लोगो र मस्कट सार्वजनिक नगरिएको बुझिएको छ । कार्यक्रममा सार्वजनिक गरिने भनिएको लोगो र मस्कट ब्यानरमा राखिएको थियो ।
जसमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेड पान्डा राखिएको छ । प्रतीक चिह्नमा सात वटा रंग, सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी रेखाकृतिमा राखिएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।