
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा सुनिश्चित गरिएका नागरिकका अधिकार प्रत्याभूति गराउनका लागि सरकारी गैरसरकारी क्षेत्र सबै एकबद्ध भएर लाग्नुपर्ने बताएका छन् । समाज जागरण केन्द्र (स्याक) नेपालको ३० औँ स्थापना दिवस तथा २९ औँ साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सरकार र गैरसरकारी निकायपछि बलियो सहकार्य आवश्यक पर्ने बताएका हुन् ।
कर्णालीमा सामाजिक रूपान्तरणका लागि स्याक नेपाल लगायतका नागरिक समूह संस्थाहरूले महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै उनले आगामी दिनमा सरकारसँग थप सहकार्य गर्न आवश्यक रहेको बताए । एक्लै हिँड्न खोजे कोही पनि गन्तव्यमा नपुग्ने औँल्याउँदै सरकारसँगको सहकार्यलाई आत्मसाथ गर्न मुख्यमन्त्री कँडेलले सुझाव समेत दिए ।
उनले कर्णाली प्रदेश प्राकृतिक स्रोत र साधनका रूपले धनी रहेकाले यसको विवेकपूर्ण प्रयोग गर्न सके नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सजिलै परिवर्तन गर्न सकिने भन्दै विकास साझेदारहरूलाई त्यस दिशातर्फ अगाडि बढ्न आग्रह गरे । स्याक नेपालका संरक्षक डा.सुरेश तिवारीले समाजमा व्याप्त हिंसा, दुर्व्यवहार, विभेद लगायत हानिकारक अभ्यासहरूलाई न्यूनीकरणका लागि आफूबाट नै केही गर्नुपर्छ भन्ने सोचका साथ वीरेन्द्रनगर १२ का युवाहरूले स्याक नेपालको स्थापना गरेको स्मरण गर्दै ३० वर्षसम्म आइपुग्दा उद्देश्य अनुरूप धेरै कामहरू गरिरहेको उल्लेख गरे ।
उनले नागरिकको अवस्था परिवर्तनका लागि सामाजिक रूपान्तरण महत्त्वपूर्ण हुने भन्दै आगामी दिनमा स्याक आफ्नो अभियानमा निरन्तर अगाडी बढ्नुपर्ने बताए । “अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु बेस” भन्ने मूल नाराका साथ वि.सं २०५२ सालमा स्याक नेपालको स्थापना भएको हो । महिला बालबालिका र किशोर किशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्न योगदान गर्ने संस्थाको परिकल्पना रहेको छ । संस्थाले लिएका लक्ष्य उद्देश्य एवं परिकल्पना पूरा गर्न स्याक नेपाल निरन्तर लागिरहने अध्यक्ष मिना तिवारी (शर्मा) ले बताइन् ।
संस्था रक्तदान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ एवम् स्वच्छता, सुरक्षित मातृत्व, एचआइभी एड्स, खाद्य सुरक्षा, संस्थागत विकास, महिला अधिकार, बाल अधिकार, सिमान्तवर्गको अधिकार, विपद् व्यवस्थापन, मानवअधिकार, कोभिड १९ प्रतिकार्य, भूकम्प प्रतिकार्य, संस्थागत विकास, जलवायु परिवर्तन, आयआर्जन तथा जीविकोपार्जन, मानवीय सहायता, किशोर किशोरी प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा कार्यहरू गरिसकेको संस्थाका महासचिव गङ्गा गुरुङले बताइन् ।
संस्थाले राखेको परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य पूरा गर्नका लागि विभिन्न साझेदार संस्थाको सहयोगमा हालसम्म नेपालका विभिन्न १८ जिल्लाहरूमा काम गरिसकेको र हाल कर्णाली प्रदेशका दश वटै जिल्लाका ३० वटा स्थानीय तहहरूमा कार्यक्रम कार्यान्वयन भइरहेको महासचिव गुरुङले जानकारी दिइन् ।