२०८३ जेठ २६ , मंगलबार

नागरिकलाई असुविधा हुने ‘चेक पोइन्ट’ हटाउन मुख्यमन्त्री कँडेलको निर्देशन



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई असुविधा हुने चेक पोइन्ट हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । यातायात क्षेत्रमा देखिएका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायातसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई मङ्गलवार (आज) निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीललाई मध्यनजर गर्दे नागरिक र व्यवसायीले दुःख नपाउने गरी चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

‘सुरक्षाको दृष्टिकोणले चेकजाँच आवश्यकता हो तर कति ठाउँमा चेक जाँच गर्ने ? त्यसको पनि मापदण्ड जरुरी देखियो’ मुख्यमन्त्री कँडेलले भने । चेकजाँचको नाममा सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्म जाँदा १७ ठाउँमा चेक पोइन्ट खडा गरिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले उक्त रुटमा त्यति धेरै ठाउँमा ढाड राखेर चेकजाँच गर्नु आवश्यकता हो कि होइन भन्ने विषयमा सुरक्षा निकायले पुर्न बिचार गर्नुपर्ने बताए ।

प्रचलित कानुन उलङ्घन गर्ने जो सुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफ्नो तर्फबाट सम्पूर्ण सहयोग हुने मुख्यमन्त्री कँडेलले बताए । कानुन कार्यान्वयन गर्ने नाममा नागरिकले अनाहकमा दुख पाउन नहुने उनको भनाइ छ । एउटा युनिटको कमजोरीलाई सिङ्गो सरकारको कमजोरीको रूपमा लिएर आलोचना हुने अवस्थालाई बदल्ने दायित्व कमजोरी भएकै स्थानबाट सुरु गर्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।

संवेदशिल र मुख्य नाकाहरूमा डिजिटल रेकर्ड तथा सिसी क्यामेरालगायतका सामाग्री राख्न प्रदेश सरकारको तर्फबाट सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने बताउँदै मुख्यमन्त्री कँडेलले राजमार्गमा राखिएका सुरक्षा युनिटले सुरक्षित यात्राका लागि आजैदेखि सुधारका कामहरू थाल्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुनबहादुर चन्दले चेक पोइन्ट धेरै बनाउने भन्दा मुख्य नाकामा डिजिटल रेकर्डसहितको चेकजाँच गर्ने प्रणाली विकास गर्नुपर्ने भएकोले आफूले त्यसतर्फ तयारी थालेको बताए ।

मुख्य नाकामा व्यवस्थित चेकजाँच गरी भित्री पोस्टहरूमा इन्ट्री मात्रै गर्ने व्यवस्था मिलाउन लागेको डिआइजी चन्दले जानकारी दिए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्कर आचार्यले यातायात क्षेत्रमा देखिएका अवरोधहरू हटाउन २०७५ सालमा गृह मन्त्रालयले कार्यविधि बनाएको उल्लेख गर्दै सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दे चेकजाँचलाई सहज बनाइने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मंगलबार