
कुलेन्द्र शाही, सुर्खेत
घुमन्ते जीवन यापन गर्दै आएका राउटे समुदायले यस वर्षको दसैँ खर्च माग गरेका छन् । राउटे समुदायका अगुवा ६१ वर्षीय दिलबहादुर शाही दसैँको तयारीका लागि आवश्यक सहयोग माग्न यति बेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा भौँतारिएका छन् । दैलेखको गुराँस गाउँपालिकाको मैना खोलामा बसोबास गर्दै आएका उनी दसैँ र तिहार मनाउन आर्थिक सङ्कलन गर्दै लुम्बिनी पुगेका हुन् । बुधवार उनले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गर्दै आफ्नो समुदायका लागि विशेष ध्यान दिन आग्रह गरे ।
शाहीले भने, ‘यस वर्ष राउटे समुदायको पूजा भएकाले बोका बली दिनुपर्नेछ, त्यसैले एक लाख ५० हजार रुपैयाँको खर्च माग्दैँछु ।’ उनले राउटेको ९० घर परिवार रहेको उल्लेख गर्दै सरकारले दिने सहयोग सबै परिवारमा बाँडिन प्रतिबद्धता जनाएका छन् । अगुवा शाहीले यसअघि मुख्यमन्त्री र अन्य उच्च अधिकारीसँग भेट गरिसकेका र सहयोगको अपेक्षा गरेको बताए । लोपोन्मुख राउटे समुदाय कर्णाली प्रदेशको दैलेख र सुर्खेत जिल्लाका जङ्गलमा बसोबास गर्दै आएका छन् ।
दसैँ तिहार र अन्य चाडपर्व मनाउन पर्वको खर्च सङ्कलन गर्ने गरी प्रत्येक जिल्लामा उनीहरू घुमिरहेका छन् । उनले प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च सङ्कलन गर्ने गरेको जानकारी दिए । काठका सामाग्री बनाउने र बिक्री गर्ने परम्परागत पेसा सङ्कटमा परेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ ।
‘पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कौसी बनाएर बिक्री गर्थ्यौ र आफ्नो खर्च चलाउँथ्यौँ तर अहिले रुख काट्न पाइँदैन ।’ उनले भने, ‘त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ ।’ उनले थपे, ‘‘पढे लेखेका छैनौँ, अरू काम गरी खाने अवस्था छैन, जुन सीप थियो, त्यो सीप काम नलाग्ने नै भइसक्यो,’ शाहीले मुख्यमन्त्री आचार्यसँगै सचिव महादेव पन्तसँग पनि भेट गरेका छन् । राउटे अगुवाहरूको उपस्थितिले देउखुरीमा सबैको ध्यान आकर्षित ग¥यो ।
उनीहरू ढाका टोपी, प्लास्टिक चप्पल र झोलीमा भेट्न गएका थिए । ‘यो काठको कोसी हो हामीले हातैले बनाएको हौँ यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो सरकारले हामीलाई हेरेन’ भन्दै मुख्यमन्त्री तथा सचिवसँग गुनासो पनि गरे । भेटमा मुख्यमन्त्री आचार्यले राउटे समुदायको दसैँ खर्चका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिएका छन् ।
मुख्यमन्त्री आचार्यले आपसमा मिलेर बस्न आग्रह गर्दै नगद १० हजार समेत दिएका छन् । ‘यदि राउटेलाई खर्चको कारण समस्यामा परिरहेको छ भने प्रदेश सरकारले थप सहयोग गर्नेछ,’ उनले भने । राउटे समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
ओरालो लाग्दै राउटे समुदायको जनसंख्या
बुधवार राति मात्रै क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको छ । उनको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाहीले उपचार गर्न नमानेपछि भदौ ३१ गते सम्झाई बुझाई गर्दा उपचार गर्न सहमति भएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
गुराँस गाउँपालिका दैलेखको सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा खकार चेक गर्दा क्षयरोग रोग देखिएको अस्पतालले जनाएको छ । उनको उपचार सम्भव नभएपछि राउटे समुदाय बसोबास गरेको स्थान गुराँस गाउँपालिका १ सिमेसाल फर्किँदै गर्दा बुधवार राति सुर्खेतको कल्यान काँधमा उनको मृत्यु भएको स्वास्थ्यकर्मी बिसीले जानकारी दिए ।
उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको छ । नेपालमा राउटे समुदायको जनसङ्ख्या पछिल्ला वर्षमा तीव्र गतिमा घट्दै गइरहेको तथ्याङ्कले समेत देखाएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानवअधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन २०८१ ले राउटेको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गएको देखाएको हो । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदरभन्दा मृत्युदर बढेको पाइएको छ । २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसङ्ख्या अहिले घटेर एक सय ३४ मा झरेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।