२०८२ माघ ६ , मंगलबार

खोटो संकलनमा शिवालय रानीवन सामुदायिक वनका अध्यक्ष शर्माको गुपचुप सम्झौता



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका-५ मा रहेको शिवालय रानीवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्शाराम शर्माले उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयलाई जानकारी नदिई एक निजी कम्पनीसँग खोटो संकलन गर्न दिने निर्णय गरेको खुलेको छ ।

हेर्नुहोस् अध्यक्ष शर्माले एकलौटी गरेको निर्णय र किर्ते हस्ताक्षर

अध्यक्ष शर्माले गत चैत २५ समितिको आधिकारिक बैठक र सहमतिबिना स्थस्तिक रोजिन एण्ड टर्पेन्शन प्रालि नामक कम्पनीसँग खोटो संकलन गर्न दिने निर्णय गरेको खुलेको हो। “समितिको बैठकमा अरू एजेण्डामा मात्र छलफल भयो, खोटो संकलनबारे कुनै कुरा उठेन,” एक उपभोक्ता सदस्यले भने, “कम्पनीका कामदारहरू गाउँ आइपुगेपछि मात्र हामीलाई खोटो संकलनको कुरा थाहा भयो।”

उपभोक्ताहरूले सम्झौतापछि अध्यक्ष शर्माले पदाधिकारी र नागरिकहरूको किर्ते उपस्थित तथा हस्ताक्षरसमेत प्रयोग गरी छेडा डिभिजन वन कार्यालयमा कागजात पेस गरेको बताएका छन्। स्थानीय बासिन्दाहरूले खोटो संकलन गर्न नदिने अडान लिँदै आएको हुँदा अध्यक्षले लुकीछिपी सम्झौता गरेको उनीहरूको दाबी छ। विवाद चुलिएपछि अध्यक्ष शर्माले प्रत्यक्ष रुपमा किर्ते हस्ताक्षर गरेको स्वीकार नगरे पनि गल्ती भएको संकेत गरेका छन्।

हेर्नुहोस् आधिकारिक बैठक बसेर गरेको निर्णय

यस्तै अध्यक्षले गलत कार्य गरेको जानकारी भएपछि आज (बुधवार) उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको आकस्मिक बैठक बसेको छ। बैठकले रानीवन सामुदायिक वन क्षेत्रमा खोटो संकलन नगर्ने निर्णय गर्दै आगामी १३ गते भेला बसेर समितिलाई हेरफेर गर्ने निर्णय गरेको छ । “अध्यक्षले हामीलाई थाहै नदिई गैरजिम्मेवार निर्णय लिनुभयो,” एक सदस्यले भने, “आगामी १३ गते भेला बोलाइएको छ । भेलामा उहाँलाई बर्खास्त गरेर नयाँ अध्यक्ष तोक्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार