केही दिनअघि नेकपा समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एनआरएनएकाे कार्यक्रममा गएर उनीहरूसंग आफुहरुकाे तुलनै हुन नसक्ने भन्दै उनीहरू अराष्ट्रिय तत्व भएको र मिलेर बसेका नेपालीहरुलाई खल्वल्याउन खाेजेकाे जस्तो अर्थ लाग्ने गरि गम्भीर आराेप लगाईन। उनलेे बाेलेकाे भिडियो यति भाईरल बन्याे कि नेपाल भन्ने देश धान्ने अब रामकुमारी मात्रै छिन र उनलेे ल्याएको याे व्यवस्थामा सारा नेपाली बाँचिरहेका छन्।
देशमा अब केही हुन्न, नेताहरूका कारण देश बर्वाद भयाे भन्ने निष्कर्षमा पुगेका युवाहरुपनि झाँक्रीकाे पछि लागेर उनकाे अभिव्यक्तिलाई वाहवाही गर्न पुगे। ठूला दल र ती दलका ठूला नेताहरुसंग आक्राेशित जनमत झ्याप्पै उनै रामकुमारीकाे पछि लाग्याे। सामाजिक संजाल यसरी तरङ्गित भयाे रातदिन एमाले फुटालेकाे सत्ताेसराप गर्ने एमाले कार्यकर्ताहरुले नै रामकुमारीकाे देवत्वकरण गर्दै विदेशमा श्रम गरेर नेपालका परिवार पालेर बसेका नेपालीहरुकाे राक्षसीकरण गर्न भ्याए।
नेपालीहरुकाे कुनैपनि विषयकाे गहिराईमा नपुगी तुरुन्तै बहकिने बानी हाे। यही स्वभावले गर्दा उनीहरूले सही नेता र व्यवस्था छनाैट गर्न सकेका छैनन्। नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि जनताहरुले सहि र गलत पक्षकाे विश्लेषण गर्न नसक्दा देशकाे अपेक्षित विकास हुन सकेको छैन।
नेपाली युवाहरुलाई गरिबीको दुश्चक्रमा फसाएर विदेशिन कस्ले वाध्य पार्याे ? मानिस जहाँसुकैकाे हाेस “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” उसको मूल मन्त्र हुन्छ। पढ्न, लेख्न, राेजगारी गर्न बाहेक देशै छाड्न र अर्काकाे देशकाे नागरिकता बाेकेर हिड्न काेही पनि नागरिक चाहदैन।
यहीँ मानवीय स्वभावलाई थाहा नपाएजस्तो गरि नेपालका युवापुस्ता माँझ चर्चित युवा नेत्री झाँक्रीले नेपाल भन्ने देश डुवाउनमा विदेशिएका नेपालीहरुकाे हात भएजस्तो गरेर अभिव्यक्त दिईन। अर्काकाे देशकाे गुलामी कागज (green card) का लागि जिन्दगी नै दाउमा राखेर पुग्न ती नेपालीहरुलाई कसले वाध्य पार्याे ? स्वर्ग जस्तै गाउँघर, बुढा बाआमा, श्रीमती, बच्चाबच्ची, नातागोता, ईष्टकुटुम्व,समाज रुदै छाडेर विदेशिन कसले वाध्य पार्याे ? केही बर्ष पालेको कुकुरलाई त मानिस सजिलै छाड्न सक्दैन भने आफु जन्मेकाे ठाउँ र भएको सबथाेक छाडेर जानू उनीहरूका लागि कदापि सहज भएन हाेला भन्ने सामान्य अनुमान पनि उनलेे लगाउन सकिनन्।
दु:ख र पीडामा बाँच्नुभन्दा उमेरमा विदेशमा दुख गरेर नेपालमा पछि केही गर्ने उद्देश्य राखेर नै नेपालीहरु विदेश जाने गरेका छन्। अलिक फट्याइँ गर्न जान्ने र समाजका टाँठावाँठा व्यक्ति नेता बनिहाल्ने र बचेकाहरुमध्ये सीमित सरकारी जागिरमा अल्झिने र वहुसंख्यक जनता बेरोजगार हुने नेपालकाे परम्परा नै बनेको छ।
सरकारी जागिरे भएको दिनदेखि नै नेताले कुन ठाउँमा सरुवा गरिदिने हुन भन्ने भयले उनीहरूले सधैं झाेला तयार पारेर वस्नुपर्ने अवस्था छ। अराजक र धेरैजसाे अपठित नेताकाे गुलामी गर्न नसके कुन ठाउँमा सारिने हाे या लठैत कार्यकर्ताहरुबाट मारिनुपर्ने हाे भन्ने उनीहरूकाे ठेगान छैन।
देशमा अहिले खान नपाएर छट्पटिदै गरेका गरिव नेपालीहरुलाई आशाकाे सपना देखाएर नेताहरू राखिरहेकाे छन्। याे देशमा जनता छैनन्, जम्मै दलका नेता र कार्यकर्ता मात्रै बचेका छन भन्ने भाष्य सिर्जना गरिएको छ। नेपालीहरुलाई विभिन्न बादमा अल्मल्याएर राखिएको छ। अल्मलिनेहरु नेताहरुका गुलाम भएर बसेका छन्। उनीहरूकाे आज त छ। भाेलीकाे थाहा छैन। उनीहरूले अलि सम्झने भएभने सबै अन्धकार जस्तै देख्न थालेका छन्।
सबै अन्धकार देख्न सुरु गरेपछि उनीहरूले आफु अब विदेशिने निर्णय लिएका हुन। अलिक फरक ढंगले साेच्नेहरु, जीवनमा थाेरै प्रगति गर्ने हुटहुटी भएकाहरु आफु र आफ्नाहरुकाे जीवनयापन गर्न विदेशिएका छन।
थाेरै पुँजी भएकाहरु अमेरिका र यूराेप गएका छन भने कम श्राेत हुनेहरु खाडी मुलुक हानिएका छन। केहीपनि नहुनेहरु हजार/ दुई हजार व्याजमा पैसा लिएर भारतमा चाैकिदारी र त्याे भन्दापनि तल्लोस्तरकाे काम गर्न वाध्य छन। उनीहरू विदेशिएकाे माेजमस्ती गर्न/ रमाइलो गर्न हाेईन र अलि राम्रोसँग हातमुख जाेर्न र विरामी हुँदा उपचार गर्न सकियोस् भन्ने उद्देश्य राखेर मातृभूमि छाड्ने जस्तो अप्रिय निर्णय लिएका हुन। पुगेर, सम्पन्न भएर आफ्नाे वास र मातृभूमि छाडेर काेही जाँदैन। आकासमा उड्ने पन्छी पनि सकभर बास बस्ने गरेको रुख छाडेर जादैन भने ती त मानिस हुन, छाड्ने कुरै भएन !
देशकाे संस्कृति, भाषा, धर्म र भेषभुषा अमुल्य सम्पत्ति हुन। तीनैले देश कति सम्पन्न छ, कति सार्वभौम छ भन्ने बुझाउँछ। खासगरी २०४६ सालकाे परिवर्तन पछि देशको संस्कृति, धर्म, भेषभुषामाथि आक्रमण सुरु गरियाे। माओवादी जनयुद्धले सचेतना ल्याएपनि धार्मिक आस्थाकाे रुपमा रहेको मन्दिर नष्ट गर्न थालियाे।
सरकारी कामकाजकाे भाषाकाे चलनचल्तीमा रहेको नेपाली भाषा माथि चाैतर्फी हमला भयाे। जनताको आवाज बाेल्ने थलाे संसदमा नेपाली भाषा, धर्म र पाेशाककाे धज्जी उडाईयाे। जातीयता, क्षेत्रीयतालाई ठूला दल र तीनका नेताले नै प्रसय दिन थाले। र, धर्म निरपेक्षताका नाममा क्रिश्चियन धर्मलाई खुल्ला प्रचार- प्रसार गरिन थाल्याे। त्यही व्यवस्था ल्याउन हामीले रगत बगायाै भन्ने रामकुमारीहरुले यी विकृतिहरुकाे जिम्मेवारी लिनु पर्दैन ?
हिजाेसम्म हामीले गर्व गर्ने राष्ट्रियता तिमीहरू कै कारण धरापमा परिसकेको छ। हामीले गाैरब गर्ने त्यहीं राष्ट्रियता र आत्सम्मान पनि तिम्रो कारण सिध्याईदियाैं। जर्मन र ईटालीकाे जस्तै गाैरवपूर्ण ईतिहास बाेकेकाे सगरमाथा जस्तै अटल र सार्वभौम देश अहिले ईष्टईण्डिया कम्पनीले चुसेर छाडेकाे भारतकाे अधिनस्थ बनाएकाे हेर्नू सिवाय नेपालीले अर्थाेक के नै गर्न सकेका छन् र !
मैले सानाे हुँदा गुन्गुनाउने गरेको राताे र चन्द्र सूर्य जंगी निसान हाम्रो भन्ने गीतकाे भाेलुम रामकुमारीहरुकै शासनले सानाे पारिदिएको छ। त्याे गीतलाई अहिले खेलकाे मैदानमा प्रवेश गरेपछि मात्रै गाउने छुट छ। सीमा मिचिदैछ। भारतीय सेना र नेताले नेपाली भूमिमा परेड खेलिरहेका छन्। कालापानी, सुस्ता र पशुपति नगरमा भारतीय झण्डा फहराउदा तिम्रो बाेली किन फुट्दैन ?
लुम्बिनीको नक्सा भारतकाे सरकारी अड्डाले राखेको छ। त्यसको बिराेध गर्न तिमी सक्दैनाैं। बरु त्यही नक्साकाे छेउमा बसेर देशका प्रधानमन्त्री फाेटाे सेसन गरिरहेका भेटिन्छन्। मैले गाैरव गर्ने त्यही बचेको मेराे राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ता रामकुमारीहरुकाे व्यवस्था र शासनसत्ताले माटाेमा मिलाईदिएकाे छ। म देश भित्र हाेस या बाहिर तिम्रो कारण ठाडो शिर पारेर हिड्नै नसक्ने अवस्थामा पुगेकाे छु। याे अपराध र कुकर्मकाे भर्पाई तिमीले कसरी गर्छाै ?
भरखरै सार्वजनिक भएको एउटा रिपोर्टले नेपाल एसिया कै गरिव देशमा दर्ज भएकाे देखाएछ। चालू आबमा देशकाे राजस्व १० खर्ब ननाध्ने स्थिति छ। जवकि चालू खर्च नै १३ खर्बकाे हाराहारीमा पुग्ने अनुमान छ। आन्तरिक र वाह्य ऋण २३ खर्ब पुगिसकेको छ। हरेक नेपालीकाे टाउकोमा अहिले ८० हजार ऋण छ। एउटा नेपालीकाे बच्चा जन्मदै ऋण बाेकेर जन्मन्छ।
हामीले विश्वका धेरै देशले गरेको विकास हेरेका छाैं। एउटै मात्र श्राेतकाे उपयोग गरेर उनीहरूले विकासमा ठूलो तरक्की गरेका छन्। अरवका देशले तेल बेचेका छन। ईजरायलले मरुभूमिमा फलफूल र तरकारी खेती गरेर विश्वलाई नै चकित पारेको छ। आधाभन्दा धेरै भूभाग हिउँले जमिरहने रसिया, चीन र यूराेपका देशहरु अहिले महाशक्ति राष्ट्र बनेका छन्। हामी भन्दा अविकसित देशहरु अहिले सम्पन्न छन। हामी भने अझैपनि के खाउ र के लाउ भन्ने अवस्थामा छाैं।
मेराे देशमा के थिएन र ! उल्टाे हातले बीउ छरेपनि अन्न र तरकारी फल्ने, जंगलमै फलफूल हुने देशमा अहिले नदि र खाेलाका किनारका जमीन पनि बाझै छन। करोडौं क्यूफिट काठ जंगलमा सडेको छ। चुरेबाट बर्सेनि बगेर जाने कराेडाै सेफ्टी ढुँगा बालुवा भारत र वंगलादेशलाई बेच्न सकिने अवसर गुमेको छ। बेच्न खाेज्दा कहिले कसले राेक्छ कहिले कसले !
बहुमुल्य जडिबुटी, पत्थर जहाँकाे त्यहीँ छ, बरु नास भएर गैरहेकाे छ। विदेशीकाे दवावमा तिमीले पेट्रोल र ग्यास खानी संचालनमा ल्याउन सकेका छैनाैं। मुस्ताङ लगायतका जिल्लामा रहेकाे यूरेनियम शक्तिराष्ट्रहरुकाे हानथापले जिम्मा लगाउन कठिनाइ परेको छ। नत्र, त्याे पनि एउटा कुनै देशले लगिसकेकाे हुनेथियो।
सामान्य पूर्वाधार मात्रै बनाईदिए नेपालमा लाखौं पर्यटकहरु आउथे। तिमीले अस्ति भनेजस्तै नेपालीहरु विदेशका रेष्टुरेन्टमा काम गर्न जानू पर्थेन। देशमै उद्यम गरेर खाने थिए। नेपालीलाई राम्रोसँग पढ्न र लेख्न दिएको भए अहिले उनीहरू रेष्टुरेन्टमा काम गर्ने वेयटर र कुक भए जान्थेनन हाेला । गएपनि उनीहरू डाक्टर, ईन्जिनियर र यस्तै अन्य सम्मानित पेशा गरिरहेका भेटिन्थे।
याे देश कस्तो बनाईदियाैं भने स्वाभिमानसंग हिड्ने, आफ्नाे कमाई खाने कृषक, श्रमिक, शिक्षकजस्ताकाे सामाजिक मर्यादा छदैछैन। राजनीतिक दलसंग आबद्ध नितान्त नेताहरुसंग उठबस भएका टाेले गुण्डा, नेता र अर्कालाई ठगेर खानेहरुकाे यहाँ वाेलवाला छ। “ईथिक्स”मा चल्ने मान्छेभन्दा २ नंवरी गर्नेहरुले माथिदेखि तलैसम्म नेटवर्क बनाएका छन्।
देशकाे बार्षिक बजेट दलालीहरुकाे काेठामा बसेर तयार पारिन्छ। उनीहरूकै ईशारामा करका दर हेरफेर गरिन्छ। कसरी दलाल व्यवसायीहरुलाई फाइदा पुर्याउने र देशकाे राजस्व ब्रह्मलुट गर्ने भन्ने याेजना प्रधानमन्त्री र अर्थमन्त्रीकाे चेम्बरमा बन्ने गर्दछ। रामकुमारीहरु यसलाई स्वभाविक ठानेर बस्ने गर्दछन। किनकि याे व्यवस्था ल्याउन उनीहरूले रगत बगाएको हाे।
मान्छे मार्ने र काट्नेहरुलाई राष्ट्रिय दिवस पारेर माफी दिईन्छ, जेलमुक्त गरिन्छ। अपराधीहरुलाई छाड्न स्वयं राष्ट्रपति र प्रधानमन्त्रीहरु संलग्न हुन्छन्। अपराधीहरु छात्ती फुलाउदै लावालस्कर लगाएर जेलबाट छुट्छन। सरकारी नुनपानी खाने प्रहरी प्रशासन यसैकाे रमिता हेरेर बस्छ। मारिएकाहरुका परिवारहरु कुनामा बसेर भक्कानिनु पर्ने अवस्था छ।
समाजसेवा गर्छु भनेर राजनीतिमा आएका प्रधानमन्त्री देखि सदस्यसम्मलाई राज्यले मासिक तलवभत्ता र अन्य धेरै सुविधा दिईरहेकाे छ। लाग्छ उनीहरू सेवा गर्न हाेईन जागिर खान आएका छन। मध्यम र सामान्य व्यवसायी र जनताहरुबाट विभिन्न करका नाममा लुटिएको पैसाले रामकुमारीहरुजस्तै नेताहरू पाल्न ठिक्क छ।
जनताले समयमा कर बुझाएन भने दाेव्वर जरिवाना गरिन्छ। पानी र विद्युतकाे वील समयमा नतिरे २५ प्रतिशत भन्दा बढि जरिवाना ठाेकिन्छ, लाईन काटिन्छ। तपाईंहरु पदमा हुँदा हाेस या नहुँदा सवारीसाधन राज्यबाट लिनुहुन्छ। जनताले खरिद गर्दा ३ सय प्रतिशतसम्म अतिरिक्त मूल्य ठाेकिन्छ । किनकि रामकुमारीहरुलाई देशविदेशमा शयर गर्न सरकारी बजेटकाे आवश्यक्ता छ।
जनतालाई दिनुपर्ने सेवा र ठेकेदारले काम गरेको पाउनुपर्ने पैसा समयमा नदिने सरकारले आफुले समयमै भुक्तानी नदिएकाे अबधिकाे जरिवाना किन नतिर्ने ? जनताबाट लखनउ लुट शैलीमा करकाे नाममा पैसा उठाउने सरकारले यसवापत न कुनै सुविधा दिएको छ, न त सुरक्षा !
वास्तवमा मिटरव्याजी सरकार बनेको छ। दिए ठिक छ, नत्र छाला काढेर पनि उठाई छाड्छ। तान्न र लुट्न सक्नेजति स्थानीय, प्रदेश र संघ सरकारले करका नाममा जनताको ढाड सेकेर तानिएको छ, लखनउ लुट मच्चाईएकाे छ। रामकुमारीहरु यसलाई बैधता दिन कानुनका छिद्र खाेज्न ब्यस्त छन्।
देशमा व्यापार व्यवसाय गर्ने अवस्था नै छैन। आर्थिकमन्दी चलिरहेको वेलामा पनि ७ प्रतिशत व्याजमा लगिएको कर्जाको व्याजदर १७ पुर्याईएकाे छ। ठूला व्यवसायीहरु सरकारसंगकाे सेटिङ्गमा कालाेवजारी र दुई नम्बरीबाट विदेशमा धन थुपारिरहेका छन्। यसमा रामकुमारीहरुकाे दर्हाे साथ र समर्थन छ।
विभिन्न आन्दाेलनका नाममा देशका पूर्वाधार तहस-नहस गरियाे। साेझा र सिधा जनताले राजनीतिक परिवर्तन पछि अवस्य केही हुन्छ भनेर साथ दिए। तिमीले ताेकिदिएका उम्मेदवारहरु डाँका फटाहा, वलात्कारी जस्ता भएपनि जनताले भाेट हालेर जिताईदिए। कहिले काँग्रेसकाे त कहिले कम्युनिस्टको एकल सरकार बनाउन रगत र पसिना बगाए। यसैलाई रामकुमारीहरुले लाेकतन्त्रकाे नाम दिए।
जनताले चुनावमा भाेट हाले, तिमी सिंहदरबार पस्याै। चुनावी खर्च दिए, आफ्ना व्यक्तिगत महल बनाउन खर्च गर्याै। देशमा खुलेका उद्योगधन्दा सक्यौं। जलश्राेत विदेशीका हातमा सुम्प्याैं। खानी र जडिबुटी अब कसलाई दिने भन्ने छलफलमा छाैं तिमी रामकुमारीहरु !
याे देशकाे गरिबी, अशिक्षा, विदेश पलायन, राेजगारी लगायतका विषयमा नेपालमा सर्वदलीय छलफल भएको सुनिएकाे छैन। काे सत्ता पुग्ने/नपुग्ने, कसले कसको मानमर्दन गर्याे/ गरेन भन्ने मुख्य विषय बनाएर सधै छलफल भएको मात्रै समाचार सुनिन्छ। विकास निर्माण, राष्ट्रियता र जनजीविकाकाे सवालमा छलफल भैदिएकाे भए देश बन्न १ दशक काफी थियाे। याे विषयमा रामकुमारीहरु माैन छन्।
राष्ट्रिय पुँजीकाे संवर्द्धन र प्रवर्द्धन गर्दै अघि बढेको भए अहिले नेपाल वस्तु तथा सेवा निर्यात गर्ने एसियाकाे ठूलो देशमध्येकाे एक देश बनिसकेको हुन्थ्याे। लिच्छविकाल र मल्लकालबाटै एसियाकाे प्रमुख निर्यातक देश बनेको नेपाल अहिले कृषिवस्तु पनि आयात गर्ने देश बनेको छ। राष्ट्रिय पुँजी समाप्त पार्न विदेशी प्रभुले रामकुमारीहरुलाई खटाएकाे छ।
देश सबै हिसाबले पराधीन बनेको छ। विहान हिडेकाे मानिस साँझ फर्कन्छ कि फर्कदैन भन्ने अवस्था छ। चरम भ्रष्टाचार र असुरक्षा छ। रामकुमारीहरुले हेपेर भनेका नेपालीले विदेशका रेष्टुरेन्टमा काम गरेकाे वैदेशिक मुद्रावाट देशले अत्यावश्यक आयात धानेकाे छ। महिनाकाे झण्डै २ खर्व रेमिटान्स तीनै विदेशिएका नेपालीहरुले पठाउदा देश कंगाल घाेषणा हुनबाट बचेको छ।
यति गर्दापनि नपुगेकाे पैसा देशलाई धितोबन्धक राखेर, विदेशीका सामु घिडघिडाउदै ऋणसापट लिएका छाैं। देशमै पुर्याईदिएकाे भए ३ करोड जनसंख्यामध्ये १ करोड नेपाली खानैका लागि विदेशिनु पर्थेन। यसको जिम्मा ती एनआरएनएहरुले लिने हाेईन, रामकुमारीहरुले लिनुपर्छ।
त्यसैले, नफर्क विदेशिएका भाइहरु ! याे देश रामकुमारीहरुकाे दाईजाे हाे। देशलाई जति लुटेपनि लुट्न देउ ! किनकि, देशकाे शासनव्यवस्था उनीहरूले लुट्न कै लागि लडेर ल्याईएको हाे। उनीहरूले ढुँगा हानेर, मान्छे मारेर अनि देशका सबै पूर्वाधारहरु सिध्याएर ल्याएको व्यवस्था हाे। उनीहरूले ध्वस्त पार्नुपर्ने सबै पारिसके। बाँकी त्यही नेपाल भन्ने देश छ। याे पनि अराजक, अराष्ट्रिय, विदेशीबाट परिचालित रामकुमारीहरुकै पुस्ताले सुन्दर शान्त नेपाललाई अन्य देशमा विलय गराएर फत्ते गर्नेछ। हामी विचारा नेपाली जनता फगत निन्न्याउराे मुख लगाएर हेरिरहने छाै।