चार वर्षदेखि पुलको काम अलपत्र : पिल्लरका डण्डीमा खिया

नागरिकलाई सास्ती

कुलेन्द्र शाही २२ श्रावण २०८१, मंगलवार ०९:५०
खारा खोलामा अलपत्र अवस्थामा रहेकाे पक्की पुल

कुलेन्द्र शाही, सुर्खेत 

छेडाचाँदे–जुम्ला सडक खण्डभित्र पर्ने पक्की पुल पुल निर्माण सुरु भएको ४ वर्ष बित्न लाग्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न सकेको छैन । काम अघि नबढेपछि र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले बारम्बार ताकेता गरे । बारम्बार म्याद थपेको ठेकेदारले अझै काम सकेको छैन । नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले करिब चार करोड ८ लाख एक हजार रुपैयाँमा पुलको ठेक्का लिएको हो ।

२०७८ साल असोज २९ गते गरेको सम्झौता अनुसार २०८० साल माघ २८ मा पुल निर्माणको काम सकिनुपर्ने थियो । तर ४ वर्ष बित्न लागिसक्दा पनि प्रभावकारी रूपमा काम अघि बढेको छैन । खारा खोला पुलको काम सम्झौताअनुसार ठेकेदारले काम नसकेको पूर्वाधार विकास कार्यालय जाजरकोटले जनाएको छ । काम गर्दा गर्दै निर्माण व्यवसायीले दुई वटा पिल्लरको काम गरेर बिचमै छोडेर अलपत्र पारेको छ ।

लामो समयदेखि पुल निर्माणको काम अलपत्र हुँदा डण्डीहरूमा खिया लागेको छ । बनिसकेका संरचना पनि खेर जान थालेको छ । लामो समयदेखि पक्की पुल अलपत्र परेपछि त्यहाँका नागरिकहरूलाई निकै समस्या हुँदै आएको छ । पुल निर्माण कार्य सुरु भएको चार वर्षसम्म आधा पिल्लर उठाएर अलपत्र अवस्थामा छाडिएको छ ।

पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले बिचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र पुल अलपत्र परेको स्थानीयको भनाइ छ । पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बिचमै अलपत्र पर्दा दैनिक यो सडक खण्ड भित्र चल्ने यातायातका साधनले निकै सास्ती भोग्नुपरेको छ ।

जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतजावत गर्न, स्थानीय तहमा सेवा लिन आउँदा जाँदा स्थानीयले सास्ती भोग्ने गरेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिए ।

छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले पूर्वाधार विकास कार्यालयले पुल निर्माणमा ध्यान दिन नसकेको आरोप लगाए । ठेकेदार कम्पनीले समयमै काम सकेको भए यहाँका स्थानीयलाई आवतजावतमा सुविधा हुने उनी बताउँछन् । ‘पुल नबन्दा यहाँका सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको छ । बर्खाका बेला न यता आउन सकिन्छ । न उता जानै,’ उनले भने, ‘समयमा पुल निर्माणको काम सक्नुस् भनेर बारम्बार दबाब दिँदा पनि ठेकेदार चुप बस्यो ।’

प्रमुख खड्का आफैँ पनि विभिन्न ठेक्का लिएर विभिन्न ठाउँमा काम गरिरहेका छन् । उनले कार्यालय प्रमुखले ठेक्का तोडेर अगाडी बढ्छु भनेर आश्वासन मात्रै देखाएको बताए । ‘ठेक्का तोडेर अगाडी बढाउँछु भन्नुहुन्छ तर काम भने केही भएको छैन, उनले भने, ‘निर्माण व्यवसायी पनि सम्पर्कमा आउन नसकेको अवस्था छ, ठेक्का अरूको भएपनि दुख हामीले पाइरहेका छौँ ।’ छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउन जान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ ।

म्याद थप्दा पनि काम भएन
पूर्वाधार विकास कार्यालयका प्रमुख सोहिन्दर यादवले व्यवसायी कम्पनीले म्याद थप माग गरेर म्याद थप्दा पनि काम गर्न नसकेको बताए । उनले २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३ औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्था अनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दासमेत पुल निर्माणको काम सम्पन्न हुन नसकेको जानकारी दिए । प्रमुख यादवले म्याद थप्ने काम बाहेक अन्य कुनै पनि काम हुन नसकेको स्वीकार गरे ।

८० लाखको कजवे, खोलाले बगायो
यही ठाउँमा छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम चार वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खबरदारी नगरेको स्थानीयवासीहरु आरोप लगाउँदै आएका छन् ।

जाजरकोट क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य राजीव विक्रम शाहले पश्चिम क्षेत्रको विकास निर्माणमा भएको ढिलासुस्तीका विषयमा मतलब नगरेको उनी निकट दलकै कार्यकर्ताहरू आरोप लगाउन थालेका छन् । यता कार्यालय प्रमुख यादवले प्रशासनको साथ नपाएको बताएका छन् । पटक–पटक काम गर्नका लागि पत्राचार भएपनि उपलब्धि हुन नसकेको उनको भनाइ छ । यही पुलबाट मध्यपहाडी लोकमार्ग र भेरी कोरिडोर जोडिने गर्दछ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

Next Post

शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दोलनकारीले जिउँदै जलाए

२२ श्रावण २०८१, मंगलवार ०९:५०
काठमाडौं । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेको घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसोरस्थित अवामी लीगका नेताहरू बसेको एक होटलमा आगो लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । होटलका मालिक जेसोर […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031