२०८३ वैशाख १९ , शनिबार

ज्योति फाउन्डेसनले भुकम्प प्रभावित क्षेत्रका छोरीलाई छात्रवृत्तिमा पढाउँदै



ज्योति फाउन्डेसनका अध्यक्ष ज्योति कटुवाल

सुर्खेत । जाजरकोट र रुकुमपश्चिमा भूकम्पबाट प्रभवित छोरीहरूलाई श्री ज्योति फाउन्डेसनले पढाउने भएको छ । सुर्खेतमा स्थापना भएको फाउन्डेसनले भूकम्पबाट प्रभावित छोरीहरूलाई पढ्न सहयोग गर्नका लागि रकम समेत संकलन गरेको छ ।

फाउन्डेसनले मंगलवार पत्रकार सम्मेलनमार्फत भूकम्पमा परी आमाबुवा गुमाएका विपन्न र अति विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी दिएको हो । फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले तत्कालका लागि २० जना छोरीहरूको शिक्षामा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गरेर छात्रवृत्तिमा पढाउन थालेको बताइन् ।

भूकम्पबाट प्रभावित अति विपन्न परिवारका छोरीहरूको एकदेखि दस कक्षासम्म सामुदायिक विद्यालयमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले व्यहोर्ने उनले जाकारी दिइन् । परिवारको आर्थिक अवस्थाका कारण पढ्न नपाएका छोरीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेका हौं, उनले भनिन्, ‘यही बेलामा भूकम्पले जाजरकोट र रुकुमपश्चिका नागरिकहरूलाई प्रभावित बनाएको छ ।

अहिले भूकम्प प्रभावित जिल्लाहरूका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरूलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरूआत गर्दैछौं ।’ अध्यक्ष ज्योति कटुलालका अनुसार भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छोरीहरूलाई फाउन्डेसनले पढाउने छ ।

यस्तै, भूकम्प प्रभावित क्षेत्रका छोरीहरूका लागि पढाउने उद्देश्यका साथ फाउन्डेसनले मंसिर १५ गते सुर्खेतमा सांगीतिक साँझ गरेको थियो । उक्त सांगीतिक साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने कटुवालले बताइन् ।

सांगीतिक साँझबाट फाउन्डेसनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको थियो। जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिइन् । हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत छ ।

सांगीतिक साँझका क्रममा बिक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । अध्यक्ष ज्योतिका अनुसार स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया समेत चलिरहेको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार