सुर्खेत। रुकुम पश्चिमका पाँच पालिकाले सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । सशस्त्र जनयुद्ध शुरु भएको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
जिल्लाको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् । मुसिकोट नगरपालिकाले यस विषयमा कुनै पनि जानकारी गराएको छैन ।
मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो भने अरु ४ स्थानीय तह नेकपा माओवादी केन्द्रले जितेको थियो । बाँफिकोटका गाउँपालिकाका अध्यक्ष जनककुमार बाठा मगर जिल्ला बाहिर गएका कारण कार्यबाहक अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष ताराबहादुर बुढा (केसी) को अध्यक्षतामा कार्यपालिका बैठक बसेर जनयुद्ध दिवसको बिदा दिइएको हो ।
यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरेको थियो ।
जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भाबी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न गत पुस १३ गते आदेश दिएको हो ।