सुर्खेत । गत माघ २५ गते अपराह्न साढे ४ बजे सुर्खेतको भेरीगंगाबाट छालाको मुद्रासहित दुईजना पक्राउ परे । भेरीगंगा नगरपालिका–११ राताचौरबाट पुरातात्त्विक महत्वको त्रिभुज आकारको छालाको मुद्राजस्तो देखिने वस्तुसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–१६ घर भई वीरेन्द्रनगर–१२ बस्ने २५ वर्षीया धर्मराज लामिछाने र सोही ठाउँका ५७ वर्षीया हिरबहादुर शाही रहेका थिए । उनीहरूले छालाको मुद्राको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। राताचौर स्थित हरि विष्टको घरमा भिमा साउदले सञ्चालन गरेको किराना पसलको अगाडि कुर्सीमा बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका लामिछानेले लगाएको रातो कालो मिश्रित ज्याकेटको बायाँ खल्तीबाट अगाडि पट्टी चन्द्रमा र चन्द्रमाको मुनी ३ तारा र ११११ लेखेको पितल जस्तो टल्किने धातुले छेउछाउमा त्रिभुज आकारमा छालाले बनाएको मुद्राजस्तो देखिने बस्तु एक थानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । छालाको मुद्रासहित पक्राउ परेका दुईजनाको नाम र फोटोसहित इलाका प्रहरी कार्यालय छिन्चुले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको थियो ।
तर, सार्वजनिक गरेको केही समयमै उक्त पोष्ट हटाइएको थियो । लामिछाने पक्राउ परेको तर प्रहरीले सार्वजनिक नगरेको भन्दै विभिन्न टीकाटिप्पणी सुरु भएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय छिन्चुमा अनुसंधानको सिलसिलामा राखिएको छ । उनलाई प्रहरीले दोस्रोपटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनलाई प्रहरीको नियन्त्रणबाट छुटाउनका लागि राजनीतिक दबाब आएको श्रोतले बतायो।
स्रोतकाअनुसार उनलाई छुटाउन कांग्रेसले नेताहरु सकृय रहेका छन् । लामिछानेलाई छुटाउन केन्द्रस्तरका कांग्रेसका नेताहरुले प्रहरीलाई फोन गरेको र उनी छिट्टै छुट्ने घरपरिवारलेसमेत गाउँमा भन्दै आएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए। लामिछानेको बारेमा जानकार एक व्यक्तिले भने, ‘उनी यस अघि पनि न्युज पोर्टल बनाइदिने भन्दै पैसा असुली धन्दा गर्थे । उनले यस्तो गर्छन् भन्ने धेरै गुनासो आउँदा पनि प्रहरीले गुपचुप रूपमै मिलायो, उनलाई प्रहरीले सकेसम्म पक्राउ गर्दैन । यदि गरेपनि राजनैतिक दबाब आउँछ एक छिनमा छोडिहाल्छन् ।’
यसवारेमा बुझ्न खोज्दा इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले पक्राउ परेका लामिछानेलाई छाड्नका लागि कुनैपनि राजनीतिक दबाब नआएको बताए । ‘हामीले २५ गते उनीसहित अर्का एक जनालाई पक्राउ गरेका छौ,’ उनले भने, ‘हामीलाई उनलाई छुटाऊँ भनेर कुनैपनि राजनीतिक दबाब आएको छैन । घरपरिवारबाट मात्रै मेरो छोरा निर्दोष छ, छोडिदिनु भनेर आउँछन् ।’
निरक्षक चौहानले दोस्रोपटकको लागि म्याद थप भएको बताए। ‘हामी अनुसन्धान थाल्छौ र थालिरहेका छौ, सबै कुरा अहिले नै भन्न मिल्दैन,’ उनले भने।
इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत एक प्रहरीले भने राजनीतिक दबाब आएपनि छाड्न नमिल्ने बताए । ‘पाँच दिनको लागि म्याद थप भएको छ, जे भएपनि हामीले यहाँबाट सिधै छोड्न मिल्दैन,’ उनले भने, ‘हामी अदालतमा पेस गर्छौ, त्यसपछि अदालतले एउटा फैसला गर्ला। राजनीतिक दबाब आएपनि प्रहरीले छोड्न मिल्दैन बरु अदालतले निर्दोष भनेर छोड्न सक्छ ।’
दुई दिनमै ६ जना पक्राउ
इलाका प्रहरी कार्यालय छिन्चुले दुईदिनमा छालाको मुद्रासहित ६ जनालाई पक्राउ गरेको थियो । गत २४ गते भेरिगंगा नगरपालिका–१२ छिन्चु बजारमा रहेको एक होटेलको कोठाबाट पुरातात्त्विक महत्वको त्रिभुज आकारको छालाको मुद्राजस्तो देखिने वस्तुसहित वीरेन्द्रनगर–२ बस्ने वर्ष ३७ का सोमबहादुर रावल र अछाम कमल बजार–३ बस्ने वर्ष ३८ का लोकेन्द्र बहादुर शाह रहेको थिए ।
रावलले पछाडि बोक्ने कालो झोलाबाट पितल जस्तो टल्किने धातुबाट माथिल्लो कुना सूर्य बनाएको र तल्लो भागमा ११११ लेखिएको अर्को पितल जस्तै टल्किने धातुबाट माथिल्लो भागमा चन्द्रमा बनाएको र तल्लो भागमा ३ वटा तारा बनाएको त्रिभुज आकारमा छालाको मुद्रा जस्तो देखिने वस्तु एक थान बरामद गरिएको थियो ।
यस्तै, सोही दिनको भोलिपल्ट भेरीगंगा–२ को सत्तरीबाट छालाको मुद्रासहित वीरेन्द्रनगर–३ का ५१ वर्षीया अशोकबहादुर सुनार र भेरीगंगा–१० बस्ने वर्ष ४१ का टेकबहादुर पुन मगरलाई पनि पक्राउ गरेको थियो । सोही दिन बेलुका लामिछाने र हिरबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले केही दिन अगाडि लामिछानेलाइ भेट्नका लागि सुर्खेतबाट १० जना मान्छे छिन्चु गएको तर राजनीतिक दलहरुबाट भने दबाब नआएको बताए । उनले लामिछानेलाई भेरीगंगाबाट पक्राउ गरिएको हुँदा उक्त विषयको अनुसन्धान गर्ने जिम्मा इलाकालाई भएको बताए ।
खबरदृष्टिले म्याद थप गर्ने जिम्मा इलाकालाई हुन्छ त भन्ने प्रश्नमा उनले घटनास्थल हेरेर अनुसन्धानको जिम्मा दिइने गरेको बताए । ‘उनीहरु पक्राउ परेको भेरीगंगाबाट हो, त्यसैले अनुसन्धान गर्ने म्याद थप गर्ने जिम्मा इलाकालाई दिइएको हो, राजनीतिक दबाब परेर जिल्लामा नल्याइएको होइन्,’
डिएसपी शाहीले भने, ‘एक दुइ दिन अगाडि वीरेन्द्रनगरका उनका आफन्त भेट्नलाई छिन्चु गएका थिए, प्रहरीले भेट्न दिएन् भनेर मलाई फोन आएको थियो, मैले भेट्न देऊ भनेर प्रहरीलाई भने त्यसपछि भेटेर आएका हुन। अरु यो विषयमा मलाई त्यति धेरै जानकारी छैन् ।’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।