
सुर्खेत । १५ वर्षअघि भएको हत्याको घटनामा गत माघ ७ गते नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भयो । जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको झण्डै एक महिना बित्न लागदा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् ।
२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमूना माविमा अध्ययनरत कालिकोटको साविक पाखा गाविसका १७ वर्षीय राजबहादुर मल्लको विवादका क्रममा मृत्यु भयो । त्यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादका क्रममा उनको मृत्यु भएको थियो ।
मल्ललाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकू र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेको जाहेरी पीडित परिवारले दियो । जाहेरीमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित माओवादी निकट कार्यकर्ताहरूलाई किटान गरिएको थियो । किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको एक महिना पुग्न लाग्दा पनि प्रहरीले पञ्चा सिँहलाई पक्राउ गर्न सकेको छैन् ।
सिंहलाई सुर्खेत प्रहरीले फरारको सूचीमा राखेको छ । तर पक्राउ गर्न भने प्रहरी नै डराएको छ । कुनै पनि अपराधमा संलग्न व्यक्तिमाथि परेको किटानी जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्नुपर्ने हुन्छ । तर, राजनीतिक पहुँच भएका ठूलाबडालाई प्रहरीले सहजै पक्राउ गर्दैन् ।
प्रहरीले नेपालमा नै रहेकाहरूलाई खोजी गरेर पक्राउ गर्छ भने अपराध गरेर विदेश भागेकाहरूको हकमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ गर्छ । तर, ठूला अपराधमा संलग्न भएर पनि राजनीतिक पहुँचमा रहेकाहरूलाई पक्राउ गर्न भने प्रहरी तर्किने गरेको छ । राजनीतिक पहुँचमा भएका व्यक्तिहरू सार्वजनिक कार्यक्रममा देखिइरहे पक्राउ गर्न सक्दैन ।
सिँह दैनिक सार्वजनिक कार्यक्रममा सहभागी भएर भाषण दिइरहेकै हुन्छिन् । तर प्रहरी उनलाई पक्राउ गर्नमा चुकेको देखिन्छ । यति मात्रै होइन, सिंहमाथि अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोकिएका छन् । तर, राजनीतिक पहुँचका कारण सिंह खुलमखुला हिँडिरहँदा पीडितहरू भने थप पीडा बोकेर बाँचिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार छ ।
फरार सूचीमा रहेकी सिंह खुला राजनीतिमा भए पनि सरकारको दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको बुझिएको छ । यता कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले पञ्चा सिँहलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको स्वीकार गरे । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालिरहेको र आफुहरुलाई केही अपडेट नगराएको जानकारी दिए ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक एवम् एसपी योगेन्द्रसिँह थापाले पञ्चा सिँहलाई पक्राउ गर्नेबारे प्रहरीले अनुसन्धान थालिरहेको बताए । उनले सरकारबाट दबाब नआएको समेत प्रष्ट पारे । ‘प्रहरी डराएको छैन्, पक्राउ गर्ने प्रक्रिया हुन्छ हामी त्यही प्रक्रियामा लागिरहेका छौ । भन्न बित्तिकै पक्राउ गर्न सकिदैन् ’ एसपी थापाले भने ।
यस्तै सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् (डीएसपी) लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नमिल्ने बताए । ‘अदालतको आदेशपछि सिंहमाथिको अनुसन्धान भइरहेको छ । अदालतले पक्राउ पुर्जी दियो । सुरुमा जसको नाममा जाहेरी आएको थियो, त्यसको मुख्य प्रतिवादी भारतमा छ’,
उनले भने ‘हामी उसलाई खोज्दै छौँ। घटनामा संलग्न मुख्य व्यक्ति नै नियन्त्रणमा नआइसकेकाले अनुसन्धान अगाडि बढ्ने कुरा पनि त भएन ।’ यस्तै, घटनामा खुकुरी प्रहार गरेको भनी किटान गरिएका मुख्य आरोपीमाथि अनुसन्धान गरी सत्यतथ्य फेला परेपछि मात्रै सिंहलगायत व्यक्तिलाई पक्राउ गर्न सकिने उनले बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।