२०८३ वैशाख १३ , आइतबार

वीरेन्द्रनगरमा विनोद गिरीलाई गोली हान्ने चार जना सार्वजनिक



सुर्खेत। प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । शनिबार राति करिब साढे १० बजेको समयमा गिरी सवार गाडीमाथि वीरेन्द्रनगर नगरपालिका– १ स्थित गैरीचोकमा गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गिरीको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न मोटरसाइकलचालक कैलाली गौरीगंगा नगरपालिका– २, का १८ वर्षीय इन्द्र विक, सोही ठाउँ बस्ने १८ वर्षीय भरत भुललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । यस्तै, गिरीमाथि गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर– ४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हाे ।

घटनाको मुख्य योजनाकारलाई भने प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिका बारेमा प्रहरीले हालसम्म केही बोलेको छैन । व्यक्तिगत रिसइबीका कारण गिरीको हत्या प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, कोसँग के रिसइबी थियो भन्ने विषय भने गोप्य राखिएको छ । घटनास्थलबाट प्रहरीले १ थान कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल बरामद गरेको छ ।

यो पनि हेर्नुहोस् – कर्णाली एक्सपोले निम्त्याएको तनाव : तरुण नेतामाथि गाेली हानिएकाे दाबी

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार