वीरेन्द्रनगरका वडाध्यक्ष विष्टबाट आफ्नै पालिकाका कर्मचारीले घुस मागेको आरोप

खबरदृष्टि सम्वाददाता १६ श्रावण २०८१, बुधबार १२:२५

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का अध्यक्ष विनोदसिंह विष्टले आफ्नै नगरपालिकामाथि भ्रष्टाचारको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएका छन्। उनले बुधवार (आज) एक स्टाट्स लेख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र पालिकामै कार्यरत केही कर्मचारीहरूले घुस तथा कमिसन नपाउँदा गत आवमा सम्पन्न भएका कामहरूको भुक्तानी रोकिदिएको आरोप लगाएका छन् ।

विष्टले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्मा र त्यहाँ कार्यरत कर्मचारीहरूले काम सम्पन्न भइसकेपछि पनि वडाका विभिन्न योजनाका रकम भुक्तानीमा घुस तथा कमिसन मागेको आरोप लगाएका हुन । उनले काम सम्पन्न भएर पनि मूल्याङ्कन गरी भुक्तानी दिन काटिएका चेक आफूले मागेको कमिसन रकम अथवा घुस नपाउँदा भुक्तानी नगरेको बताए।

उनले अधिकृत शर्मा र उनका केही सहयोगी कर्मचारीहरूको तलब मासिक १० लाख बराबर बनाइदिन सुझाव दिएका छन् । उनले अधिकृत तथा कर्मचारीले घुस तथा कमिसन मागेर मासिक १० लाख जति कमाउने टार्गेट राखेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीहरूले काम सम्पन्न भइसकेर मूल्याङ्कन उठाई भुक्तानी दिन काटिएका चेक आफूले मागेको कमिसन रकम अथवा घुस नपाउँदा चेक पाटिले नपाएर भुक्तानी फिर्ता (चेक रिभर्स) बनाइएको छ ।’

उनले लेखेका छन्, ‘अन–अफिसियल नै पाटिलाई चेक दिने दिनहरूमा उनी काठमाडौँ तिर बसिरहेका थिए । वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले हालका प्रमुख प्रशासकीय अधिकृत र उनका केही सहयोगी कर्मचारीहरूको तलब मासिक रु १० लाख बराबर बनाइदिन म नै प्रस्ताव गर्छु, किनकि मासिक रु १० लाख जति कलेक्सन गर्ने उनको टार्गेट रहेछ ।’

उनले अघि लेख्छन्, ‘सम्बन्धित निकायको जिम्मेवारी र कर्तव्य काम राम्रो भए नभएको यकिन गर्ने, कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन भूमिका खेल्ने पो होला त ? नगरपालिका माथि लगाइएको गम्भीर भ्रष्टाचारको विषयमा थप बुझ्नको लागि अध्यक्ष विष्टलाई सम्पर्क गर्दा उनले आफूले लेखेका कुरा सबै सत्य भएको बताए । विष्टले काम सम्पन्न भएर प्रक्रियामा गएका फाइलहरू पनि विभिन्न बहाना बनाएर घुस र कमिसन लिने तरिकाले भुक्तानी नगरिएको बताए ।

‘हामीले सबै प्रक्रिया पु¥याएर नगरपालिकामा पठायौँ । तर, अधिकृत र अन्य कर्मचारीले बारम्बार त्यो कागज पुगेन, उ कागज पुगेन भन्दै अड्काएर राखे। उहाँहरूले घुस र कमिसन माग्नु भयो,’ उनले भने, ‘घुस र कमिसन नपाउँदा काम सम्पन्न भएको पनि रकम भुक्तानी भएन। भुक्तानी हाम्रो वडाको मात्रै होइन धेरै वडाको यस्तै छ । अधिकृत शर्माले मेयर सावको निर्देशनलाई समेत अपहेलना गर्नुहुन्छ । उहाँले कसैलाई पनि टेर्नुहुन्न।’

यसबारेमा बुझ्न खोज्दा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले आफूलाई यसबारेमा कुनै पनि जानकारी नभएकोले कुनै प्रतिक्रिया नदिने बताइन् । उनले अध्यक्ष विष्टले लगाएको आरोप प्रमाणसहित पुष्टि भएमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइन्। आरोपित निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले आफूहरूले यसबारेमा विज्ञप्ति नै जारी गर्ने तयारी गरेकाले अहिले कुनै पनि प्रतिक्रिया नदिने बताए ।

नगरपालिकाका लेखापाल पूर्णप्रसाद गौतमले भने विष्टले लगाएका आरोप गलत भएको भन्दै पुस्ट्याइँ गर्न चेतावनी दिए । ‘जनप्रतिनिधि जस्तो मान्छेले यस्तो गम्भीर आरोप लगाउन मिल्दैन, आर्थिक मसान्तको अन्तिम दिनको राति ११ बजे भुक्तानीका लागि फाइल नगरपालिकामा पठाइएको र अहिले भुक्तानी भएन भन्दै कर्मचारीलाई विभिन्न आरोप लगाउने कार्य गलत हो,’ गौतमले भने ।

Next Post

कर्णाली प्रदेश प्रमुखको रिक्तताले कांग्रेसलाई सरकारमा जान ढिलाइ

१६ श्रावण २०८१, बुधबार १२:२५
कर्णाली। कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक निर्णय भइसकेपनि प्रदेश प्रमुखको रिक्तताका कारण ढिलाइ भएको प्रमुख नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728