
सुर्खेत । भेरीगङ्गा नगरपालिका–९ मा स्थित सृजना साना किसान सहकारी संस्थाले १३ औं साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सो सभामा बिष्णु कुमारी रोकायको अध्यक्षतामा प्रमुख अतिथि भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले सहभागिता जनाएका थिए ।
सभामा संस्थाले अनुमानित ११ करोडको बजेट प्रस्तुत गर्दै विभिन्न विषयमा व्यापक छलफल भएको थियो । कार्यक्रममा साना किसान सहकारी जिल्ला संघका इन्चार्ज हरि प्रसाद न्यौपाने, वडा अध्यक्ष पुसे कामी, लालसिं बुढा लगायत विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो ।
भेरिगङ्गा नगर प्रमुख ढकालले सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक समानतका लागि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुको साथै सीपमूलक तालिमहरु प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । युवा वर्गलाई स्वदेशमै रोजगार प्रदान गर्न सक्ने तालिमहरु सञ्चालन गर्न आग्रह गरे ।
नगर प्रमुख ढकालले सहकारी संस्थाको कार्यमा सधैं सहकार्य र सल्लाह सुझाबको महत्वलाई औंल्याउँदै संस्थाले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सहकारी संस्थाको गतिविधिहरूले स्थानीय किसानहरूको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।