२०८३ वैशाख २१ , सोमबार

जाजरकोट भूकम्प : भाग्ने क्रममा तीन जना घाइते



सुर्खेत । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका-९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय बीरेन्द्र भण्डारी रहनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरु जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज भइसकेका छन्। यस्तै भूकम्पबाट भेरी नगरपालिका-१० बस्ने कमला गोसाईको १ तले पक्की घरको कोठाको पर्खाल समेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए ।

शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । भूकम्पको धक्का कर्णाली, सुदुरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार