२०८३ वैशाख ११ , शुक्रबार

सल्यानमा दुग्ध उत्पादन किसानले फ्याटका आधारमा उचित मूल्य पाउने



सल्यान । सल्यानमा दुग्ध उत्पादन गर्ने गर्ने किसानले फ्याटका आधारमा उचित मूल्य पाउने भएका छन् । विगतका वर्ष देखि किसानले दूध उत्पादन उचित मूल्य नपाउँदा ठगिएको गुनासो गर्दै आएका किसानहरूले अब देखि फ्याटका आधारमा उचित मूल्य पाउने भएका हुन् ।

 

सल्यानको दार्मा गाउँपालिका वडा ५ त्रिवेणीमा रहेको ढाकाडम  साना किसान महिला सहकारी संस्था बाट मिल्क एनालाईजर मेसिन प्रयोग गरी दूधको फ्याटका आधारमा किसान प्रतिलिटर ५० देखि ८० सम्म दिन सकिने भएपछि दूध उत्पादन किसान ठगिन बाट जोगिने भएका हुन्।

 

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीले कुनै पनि किसानलाई बिचौलिया बाट बचाउन र वास्तविक किसानलाई  कृषि जन्य बस्तु उत्पादनमा बस्तुको गुणस्तरका आधारमा मूल्य पाउने अवस्था सृजना गरेको बताउनुभएको छ।

 

मन्त्री शर्माले दार्मा गाउँपालिका वडा ५ त्रिवेणीमा रहेको ढाकाडम  साना किसान महिला सहकारी संस्थालाई  मिल्क एनालाईजर हस्तान्तरण गर्दै यस्तो बताउनु भएको हो। शनिवार किसान सँग सरकार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकारद्वारा ४ लाख ६८ हजार बराबरको मिल्क एनालाईजर मेसिन सहकारीलाई हस्तान्तरण गरिएको हो।

 

कर्णाली सरकारले उत्पादनमा आधारित सहकारीलाई मागको आधारमा उपकरणहरू दिने व्यवस्था मिलाइएको छ । ९९४ जना सेयर सदस्य रहेको सहकारी संस्थामा दैनिक ५ सय ५० जना किसानले  ७ सय लिटर दूध सङ्कलन गर्दै आइरहेको प्रबन्धक सुरेन्द्र  केसीले बताउनुभयो ।

 

मिल्क एनालाईजरको प्रयोगबाट तुरुन्तै दूधको शुद्धता, पानीको मात्रा, फ्याट, प्रोटिन पत्ता लगाउन सकिने भएकाले यो उपकरणको प्रयोगले कृषकले दूधको गुणस्तरअनुसार मूल्य पाउने भएका हुन्। दूधको शुद्धता मापन गरेर बिक्री गर्दा महँगोमा बिक्री हुने र बाहिरी जिल्लामा निर्यात गर्न समेत सजिलो हुने भएको छ।

 

अहिलेसम्म हामीले दूध त खाएको छौ तर कस्तो दूध खाई रहेका छौ भन्ने थाहा छैन, यता किसान पनि ठगिएको छ, अर्कोतिर खाने मान्छे पनि ठगिएको छ, यसको अन्त्य गर्नको लागि यो मिल्क एनालाईजरको व्यवस्था गरिएको मन्त्री शर्माले जिकिर गर्नुभयो । बढी भन्दा बढी दूध उत्पादन र दूधमा गुणस्तर ल्याउनमा सरकार लागि परेको शर्माले भनाइ रहेको छ।

 

मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ भने कृत्रिम गर्भाधानको व्यवस्था समेत गर्ने तरल नाइट्रोजन प्लान्ट स्थापना गरिने बताउनुभयो ।

 

हस्तान्तरण कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष जुना मल्ल, कृषि तथा पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण पङ्गेनी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महत लगायत किसानहरूको उपस्थिति रहेको थियो ।

No description available.
प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार