हुम्ला । हुम्लामा उत्पादन हुँदै आएको स्याउको बजार माग घटेपछि किसानहरु चिन्तामा परेका छन् । हिमाली जिल्ला मध्यकै स्याउ उत्पादन राम्रो हुने जिल्ला हुम्ला परेपनि स्याउले बजार नपाउँदा किसानहरु चिन्तामा परेका हुन् । जिल्लामा स्याउ उत्पादन गरेर बजार नपाउँदा कुहिएर जान थालेको सिकनेट ७ का किसान कलबहादुर शाहीले बताए ।
शाहीले स्याउ बिक्रीको लागि बजारसम्म ल्याएपनि सोचेजस्तो मूल्य नपाएको बताए । वार्षिक १५ सयदेखि २ हजार किलो स्याउ उत्पादन भएपनि बजार नपाएपछि उत्पादनमा जाँगर कम हुँदै गएको शाहीले बताए । अर्की किसान राधिका रोकायाले अहिले बजारमा स्याउको दाना अनुसार बिक्री गर्ने भएकाले प्रति दाना दस रुपैयाँ पर्ने सिजन भएपनि पाँच रुपैयाँमा बेच्न बाध्य भएको बताइन् ।
रोकायाले सिजनमा मात्र नभएर स्याउको बिसिजनमा पनि बजार नपाएको पीडा किसानहरुले भोक्दै आएको बताइन् । बजारमा स्याउ बिक्री गर्नेको संख्या धेरै र स्याउ किन्ने उपभोक्ताको संख्या कम भएकाले बजार नपाएको देखिन्छ । जिल्लामा बर्सेनी स्याउ गोरु,गाई,बाख्रालाई पिडोको रुपमा किसानले खुवाउँदै आएका छन् ।
जिल्लाका किसान अहिले देखिनै स्याउको पिडो बनाउँदै आएका छन् । उपयुक्त बजार नहुनुको कारणमा राष्ट्रिय सडक सञ्जालमा अहिलेसम्म पनि नजोडिनु पनि रहेको छ । हुम्लामा रेड डेलिसिएर,गोल्डेन, गोल्डेन डेलिसिएर, नास्पती जस्ता जातका स्याउ उत्पादन हुँदै आएका छन् ।