सुर्खेत । सुर्खेतमा आन्दोलनको अवज्ञा गर्दै सवारी चलाउँदा १ सय बढी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनाको विरोध गर्दै सुर्खेतमा जारी ‘युवा विद्रोह’मा जनसंघर्ष समितिले सोमबार चलेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिँदै प्रहरीको जिम्मा लगाएको हो ।
पीडित पक्षले हाल जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलन जारी राखेका छन् । विद्रोही समूहले सरकारी सवारी साधन दुई पांग्रे ९८ वटा र चारपांग्रे १६ गरी १ सय १४ सरकारी साधनलाई नियन्त्रणमा लिएर कर्णाली प्रदेश ट्राफिक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक नारायणसिँह धामीले जानकारी दिए । उनकाअनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरू प्रदेश र जिल्ला ट्राफिक कार्यालयमा राखिएका छन् । उक्त सवारी साधन अपराह्न ४ बजेपछि फिर्ता दिइने बताइएको छ ।