
जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा मंगलबार एक नगरपालिका र सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई समेटेर जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहका १५ महिनासम्मका २ हजार ६८ र १६ देखि २३ महिनाका ३ हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडेलले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप अनिवार्य रहेको बताए। त्यस्तै, जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता हासिल गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको थियो।