२०८३ असार १६ , मंगलबार

आक्रामक फ्रान्सलाई रोक्ने चुनौतीमा स्विडेन



काठमाडौं । फ्रान्सले  समूह चरणमा शतप्रतिशत जितसहित प्रभावशाली प्रदर्शन गरेको फ्रान्सले मंगलबार स्विडेनसँग भिड्दै विश्वकपको नकआउट यात्रा सुरु गर्दैछ। खेलको विजेताले अन्तिम १६ मा जर्मनी वा पाराग्वेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोली समूह ‘आई’को विजेता बन्दै नकआउटमा पुगेको हो। सेनेगल, इराक र नर्वेलाई पराजित गरेको फ्रान्सले पछिल्ला चार विश्वकप खेलमा कम्तीमा तीन गोल गरेको छ। स्विडेनविरुद्ध पनि तीन वा बढी गोल गर्न सके फ्रान्स विश्वकप इतिहासमा लगातार पाँच खेलमा तीन गोल गर्ने पहिलो टोली बन्नेछ।

किलियन एमबाप्पे र उसमान डेम्बेले फ्रान्सका मुख्य हतियार बनेका छन्। दुवैले समान चार गोल गरिसकेका छन् भने उनीहरूको उत्कृष्ट तालमेलले फ्रान्सको आक्रमण थप घातक बनेको छ। माइकल ओलिसे र डिजिरे डुएको उपस्थितिले पनि फ्रान्सको अग्रपंक्ति बलियो देखिएको छ।

यता, समूह चरणमा सात गोल गर्दै नकआउटमा पुगेको स्विडेन पनि फ्रान्सलाई कडा चुनौती दिने तयारीमा छ। भिक्टर ग्योकेरेस, यासिन अयारी र एन्थोनी एलाङ्गाको राम्रो प्रदर्शन स्विडेनका लागि आशाको आधार बनेको छ।

फ्रान्स र स्विडेनबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। समग्रमा भएका २३ भेटमध्ये फ्रान्सले १२ खेल जित्दा स्विडेन ६ खेलमा विजयी भएको छ भने पाँच खेल बराबरीमा सकिएका छन्।

तथ्यांक विश्लेषणले भने फ्रान्सलाई स्पष्ट दाबेदार मानेको छ। फ्रान्सले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ७५.१ प्रतिशत रहेको छ भने स्विडेनको जित्ने सम्भावना ९.५ प्रतिशत मात्र रहेको अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार