२०८३ असार ९ , मंगलबार

कांग्रेस बनाएरै छोड्छौँ : गगन



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला ८–१० वर्षमा पार्टी कमजोर बन्दै गएको टिप्पणी गर्दै अब कांग्रेसलाई पुनः सुदृढ बनाउने अभियानमा आफूहरू केन्द्रित रहेको बताएका छन्। झापामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीलाई पुनर्गठन गर्ने प्रयासमा अवरोध सिर्जना गर्ने प्रस्तावहरू स्वीकार नगर्ने संकेत गरेका हुन्।

उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले निर्माण गरेको पार्टी पछिल्ला वर्षहरूमा कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै अब सुधारको प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने बताए।

थापाले भने, “बीपी कोइरालाले बनाएको पार्टीलाई ८–१० वर्षमा छिया–छिया पारियो। यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछन् भने मानिँदैन। नमानेरै अघि बढ्ने हो। हामी पार्टी बनाउन आएका छौं।”

सभापति थापाले पार्टी सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्ताप्रति पनि स्पष्ट चेतावनी दिएका छन्। उनले सम्मान व्यक्तिगत रूपमा रहने भए पनि संगठनात्मक रूपमा प्रणालीले मान्यता नदिने बताए।

उनले भने, “सबै नेताहरूले महाधिवेशनमा भाग लिनुहोला। मलाई क्षमा पनि गर्नुहोला। अद्यावधिक नगर्नुभएको नेतालाई म सम्मान गर्छु, तर सिस्टमले चिन्दैन। भोट हाल्न पाउनुहुन्न।”

थापाका अनुसार अब पार्टी सञ्चालन र महाधिवेशन प्रक्रिया पूर्ण रूपमा डिजिटल तथा प्रणालीमा आधारित हुनेछ। वडास्तरको अधिवेशन सुरु भएपछि अद्यावधिक नगरेका सदस्यहरूको नाम प्रणालीमा नदेखिने उनले बताए।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार