२०८३ जेठ २३ , शनिबार

रास्वपा सुर्खेतकाे सभापतिमा अधिकारी, शर्मा, बस्नेत, सिंह र बादीकाे चर्चा



सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतकाे जिल्ला अधिवेशनकाे तयारी पुरा भएको छ। वीरेन्द्रनगरकाे जिल्ला समन्वय समितिकाे सभा हल भोलि (आइतवार) विहान ११ बजे सुरु हुने अधिवेशनकाे सबै तयारी पूरा भएको राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतका कार्यवाहक सभापति गाेविन्दप्रसाद शर्माले जानकारी दिए।

शर्माकाअनुसार कर्णाली प्रदेश सभापति मदनबहादुर खड्काले अधिवेशनकाे उद्घाटन गर्नेछन्। पहिलाे खुल्ला सत्रलगत्तै बन्द सत्र सुरु हुनेछ। सभापति सहित १३ जना कार्यसमिति बन्द सत्रले चयन गर्नेछ। २ जना सदस्य पछि कार्यसमितिले मनाेनित गर्ने सभापति शर्माले जानकारी दिए।

कार्यसमिति सभापतिका लागि रस्साकस्सी सुरु भएको छ। निवर्तमान सहमहामन्त्री हरिप्रसाद अधिकारीलाई सभापतिमा समर्थन गर्ने भित्री तयारी जिल्ला सभापति एवम् प्रतिनिधि सभाका सांसद रमेशकुमार सापकोटाले गरेकाे श्राेतले जानकारी दियो।

गत प्रतिनिधि सभाको निर्वाचनमा अधिकारीले सापकोटालाई जिताउन निर्णायक भूमिका खेलेका थिए। एमालेभित्रकाे ठूलो हिस्साकाे मत “चुपचाप घण्टीछाप” भन्दै अधिकारीकाे अगुवाइमा खन्याईएकाे थियो। उनै अधिकारीका कारण ताेरण विक, जागुराम थारु लगायतका एमालेका सिनियर कार्यकर्ताहरु रास्वपा प्रवेश गरेका थिए।

यस्तै, वीरेन्द्रनगर-३ का लक्ष्मीनारायण बस्नेतले पनि सभापति बन्ने लविङ् सुरु गरिसकेको रास्वपा श्राेतले जानकारी दियो। उनी रास्वपा सुर्खेत जिल्लाका संस्थापक सभापति हुन्। सांसद सापकोटाका विश्वासपात्र एव कार्यवाहक जिल्ला सभापति गाेविन्दप्रसाद शर्मासमेत सभापति पदका आकांक्षी हुन्।

खवरदृष्टिकाे जिज्ञासामा भने शर्माले साथीहरूको सल्लाह अनुसार अघि बढ्ने बताए। अहिलेसम्म सभापतिमा उम्मेदवारी दिने या नदिने भन्ने प्रष्ट नभइसकेकाे उनको भनाइ छ।  गत निर्वाचनमा सुर्खेत १ बाट प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार बनेर कांग्रेसका विष्णुवहादुर खड्कासंग पराजित भएका टेकबहादुर सिंहकाे समेत जिल्ला सभापति बन्ने चाहना रहेको श्राेतले जानकारी दियाे।

उनलेे सभापतिकाे लविङ् सुरु गरिसकेको उनी निकट एक कार्यकर्ताले जानकारी दिए। यस्तै, रास्वपाका अर्का पुराना नेता हिरा वादीसमेत सभापति पदका आकांक्षी हुन। दुईपटक प्रतिनिधी सभामा समानुपातिक सांसदकाे बन्द सुचीमा परेपनि उनी सांसद छनाैट हुन सकेनन्।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार