२०८३ असार १६ , मंगलबार

चिकित्सा विद्यार्थी प्रदर्शन



काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले परीक्षा प्रणाली सुधारको माग गर्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले लामो समयदेखि चलिआएको १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली अव्यावहारिक भएको भन्दै तत्काल सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार हालको प्रणालीले अध्ययनमा अतिरिक्त दबाब सिर्जना गर्नुका साथै शैक्षिक न्यायमा समेत असर पारेको छ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्नुपर्ने, परीक्षा ढाँचा वस्तुगत र विषयगत दुवै प्रकारको हुनुपर्ने तथा परीक्षा तालिका व्यवस्थित र व्यावहारिक बनाउनुपर्ने माग अघि सारेका छन्।

त्यस्तै, परीक्षाका लागि पर्याप्त तयारी समय सुनिश्चित गर्न, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउन तथा प्रयास को प्राप्त संख्या बढाउनुपर्ने उनीहरूको माग छ।

विद्यार्थीहरूले हालको परीक्षा प्रणालीले मानसिक स्वास्थ्य, अध्ययन निरन्तरता र भविष्यको करियरमा समेत नकारात्मक असर पारेको भन्दै तत्काल विद्यार्थीमैत्री सुधार आवश्यक रहेको जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार