२०८३ वैशाख १४ , सोमबार

लागुऔषधको पुनर्जीवन बन्दै कर्णाली टिन च्यालेन्ज सेन्टर



सुर्खेत । लागुऔषध दुव्र्यसनीमा लागेर लठ्ठिएका युवाहरुलाई सुधार गर्नका लागी कर्णाली टिन च्यालेन्ज ड्रग्स रिहाबिलिटेशन सेन्टर भरोसाको केन्द्र बनेको छ । पातारासी गाउँपालिका–७ पटमा गाउँका सुवास बुढाले आफ्नो व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याएको टिन च्यालेन्ज ड्रग्स रिहाबिलिटेशन सेन्टर लागुऔषधको लतमा फसेकाहरुको लागि भरोसाको केन्द्र बन्दै गएको हो ।

सञ्चालक बुढाका अनुसार उक्त रिहाबिलिटेशन सेन्टर खोलेको झाण्डै ५ वर्ष भएको छ । यो अवधिमा उनले १५ जना लागुऔषधको लतमा फसेकाहरुलाई सुधारका लागि सेन्टरमा राखिसकेका छन् । सेन्टरमा मदिरा सेवन, सिरिञ्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगरलगायतका ड्रग्स लागुऔषधको दुर्व्यसनमा फसेकाहरु आउने गर्छन् ।

सञ्चालक बुढा आफैं पनि पहिला लागुऔषध दुर्व्यसनमा लागेर भारतको एक सुधार केन्द्रमा बसेर निको भएर आएका व्यक्ति हुन् । उनले भने, ‘म आफू सुधार भएपछि अहिले जुम्लाका १४ जनालाई सेवा दिइरहेको छु । स्थापनादेखि अहिलेसम्म झण्डै २० लाख रुपैयाँजति आफ्नो लागानी लागेको छ । २ लाख ७६ हजार रुपैयाँ नगरपालिकाले दिएको थियो । आधा घेराबार भएको छ ।’

उनले अगाडि भने, ‘त्यस्तै पातारासीका बिरामी राखिदिएबापत सेन्टरलाई दुई लाख दिइएको थियो । अहिले गुठीचौर गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । गुठीचौर गाउँपालिका र अध्यक्ष दान बहादुर बुढालाई हार्दिक आभार व्यक्त गर्दछु । जुन उद्देश्यले सेन्टर सञ्चालन गरेको हुँ त्यहीअनुसारको पूरा काम रकम अभावले गर्न सकेको छैन ।’

सेन्टरको सबैतिर घेराबार गर्न बाँकी छ भने भवन दुई तलामात्रै बनाइएको छ । लत्ताकपडा र आवश्यक फनिर्चनर बनाउन नसकिएको उनले बताए । उनले भने, ‘जुम्लाका युवापुस्ता लागुऔषधतर्फ केन्द्रित भएर आपराधिक गतिविधिमा संलग्न भएको भेटिन्छ । यस्ता विषयमा स्थानीय सरकार जागरुक हुनुपर्ने हो । तर त्यता कोही कसैको ध्यान नजाँदा चुनौती थपिएको छ ।’

सुवासले सञ्चालन गरेको सेन्टरमा अहिले पनि सुधारका लागि पतारासी गाउँपालिका–४ का कर्णबहादुर रावत छन् । उनलाई त्यहाँ राखेको १५ महिना भइसकेको छ । उनी पहिला धेरै मात्रमा मदिरा सेवन गरी मानसिक रोगी बनेका थिए । अहिले उनी समान्य अवस्थामा फर्किएका छन् । सुवासको यो सेन्टरबाट १४ जनाले पुनर्जीवन पाएका छन् ।

जुम्ला प्रहरीको तथ्यांक
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५ र २०७८÷०७९ मा ७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १२ वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी यामबहादुर बुढामगरले बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०७७÷०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधका ५ वटा मुद्दा दता गरेको थियो । ५ वटा मुद्दामध्ये ब्राउन सुगरका ४ र चरेसको १ वटा मुद्दा दर्ता भएका थिए ।’ तथ्यांकका अनुसार लागुऔषध सेवन तथा कारोबार गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ७ वटा मुद्दा दर्ता भएको उनले बताए ।

उक्त मुद्दामा १८ वर्ष मुनिका २ जना र १८ देखि ४० वर्षसम्मका १२ जना रहेका थिए । यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा १२ वटा मुद्दा दर्ता भएका छन् । प्रहरी निरीक्षक बुढाका अनुसार यस चालु आर्थिक वर्षको हालसम्म ९ वटा मुद्दा दर्ता भएका छन । उनले पहिलेको र अहिलेको तथ्यांकलाई तुलना गर्दा लागुऔषध प्रयोगकर्ताको संख्या दोब्बरले बढेको देखिएको जानकारी दिए ।

लागुऔषध दुर्व्यसनीको लतमा युवापुस्ता लिप्त हुँदै गएपनि जुम्लाका आठ वटा स्थानीय निकायले सुधारकेन्द्र बनाउनेतर्फ ध्यान दिएका छैनन् । सरकारले विकासका नाममा सडक, पुल, भवनजस्ता कार्यलाई प्रथामिकता दिएपनि सुधारकेन्द्र बनाउनका लागि केही नगरेको र आफूले व्यक्तिगत लगानीमा सामाजिक कार्य गर्दा पनि पूर्णरुपमा सहयोग नगरेको सेन्टरका सञ्चालक बुढा बताउँछन् ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार