२०८३ वैशाख १४ , सोमबार

राज्यको नजरमा कहिले पर्ला डोल्पा ?



सुर्खेत । तीन प्रकारको हावापानी रहेको डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । राज्यले भारी लगानी गरेको छु भन्न नछोडेपनि डोल्पाका लागि त्यो बजेट नगन्य मात्रामा भएको सरोकारवालाहरु बताउदै आएका छन् ।

भेरी करिडोर सडक आयोजनाले डोल्पाको लागि मुख्य सडक सञ्जाल जोडिने आधारको रुपमा रहँदै आएको छ । यो सडक जाजरकोट सदरमुकामबाट ५६ किलोमिटर अर्थात तल्लु सम्म मात्र पिचको लागि दुइ वर्ष अघि लागेको ठेक्काको काम भइरहेको छ । भेरी करिडोर भित्रको जाजरकोटको अन्तिम भाग तल्लुबाट डोल्पाको सदरमुकाम दुनै सम्म ६२ किलोमिटर रहेको छ ।

यो सडकको अस्थायी ट्याक खोल्ने काम नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी नेतृत्वको टिमले गरेको थियो । हाल सम्म सोही सडकमा केही साना सवारी साधनहरु चल्ने गरेका छन् । ठुला सवारी साधन चल्नका लागि सडकको स्तरोन्नतीको काम हुन सकेको छैन ।

सेनाले गरेको ट्याक ओपनको काम माथी नै अहिले सबै खालका डोल्पाका क्रियाकलपा हुँदै आएका छन् । राज्यले डोल्पाको सदरमुकाम सम्म सडक पुर्याउने लक्ष्य कागजमा पुरयाएपनि डोल्पालीले अनुभूति गर्ने खालको गरि पुर्याउन नसकेको ठुलिभेरीका जयकृष्ण हमालले बताए । ठाउँ, ठाउँमा निर्माण हुने पुलहरुको काम पनि जहाँको त्यही रहेको छ ।

भाषण मात्र सबै थोक भइसक्यो भन्ने तर व्यवहारिक रुपमा कुनै पनि काम नहुँदा आफूहरु दुखी भएको उनको भनाई रहेको छ । अघिल्लो वर्ष तल्लुबाट दुनै सम्म पिचका लागि आउनु पर्ने बजेट अहिले सम्म स्वीकृत नहुँदा तल्लु देखि दुनै सम्मको काम हुन सकेको छैन । भेरी करिडोरको लागि भन्दै ५० करोड बजेट बिनियोजन गरेको सरकारले अहिले चालू अवस्थामा रहेको सडकमै सो बजेट नपुग्ने देखिन्छ ।

उत्ता जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको केही समय भित्र निर्माणका लागि बोलपत्र गर्ने तयारी भएपनि भेरी करिडोरसँग जोडिएको त्रिबेणी स्थित पुल निर्माण कार्य पूरा नहुँदा समस्य भएको छ । आयोजनाले आफैँले गरेको बोलपत्र गरेर पुल निर्माण गर्नका लागि क्याराभान लाई जिम्म दिएको थियो ।

क्याराभान पाएको उक्त ठेक्का रेट्रोलाई बिक्री गरेर जिम्मेवारीबाट पन्छिएपनि पुल निर्माणको काम झनै ढिला भएको छ । पुल निर्माण एक वर्ष भित्र गरि सक्ने भने पनि भाका नाघेर दुइ वर्ष पछाडी धकेलिएपनि पुल निर्माण हुने अझैँ कुनै छाट देखिएको छैन ।

आयोजना स्थल सम्म जानका लागि उक्त पुल भेरी नदीमा छिटो बनाउनु पर्ने दबाब परेपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु गफ लगाएर सबै काम हुन्छ भन्दै उच्च अधिकारीलाई आफ्नो पक्षमा ल्याउने काममा समय खर्च गरिरहेको आरोप लाग्दै आएको छ ।

त्रिबेणीबाट मुडकेचुला गाउँपालिकाको इल सम्म सडक निर्माण तत्काल गर्नुपर्ने भएपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु सबै काम गतीमै छ भन्दै गलत जानकारी दिने गरेका छन् । यद्यपी फिल्डमा खासै कुनै पनि काम नभएको डोल्पा त्रिपुराकोटका स्थानीय पत्रकार विष्णु देबकोटाले जानकारी दिए ।

मान्छेलाई आफ्नो पक्षमा ल्याउन माहीर आयोजनाका अधिकारीहरु काम भन्दा पनि हल्ला बढी गर्ने तरिकाका रहेछन् देबकोटाले भने । आयोजना स्थलमा जान र आउनका लागि पूर्वाधार विकास कार्यालयले खोलेको ठेक्काको काम बल्ल सुरु भएको छ । त्यहाँ रहेको कडा चट्टान फोर्नका लागि बिस्फोटनका कामहरु बल्ल सुरु भएका छन् ।

त्रिबेणीदेखि माथि अर्थात डोल्पाको दुनै सम्म अहिले केही ठाउँमा अस्थायी बेलिब्रिज निर्माण गरेर यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । बेलिब्रिज भएको ठाउँमा पुल निर्माणको लागि भएका ठेक्काको कामहरु अझैँ सुरु हुन सकेको छैन । निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीहरु शक्ति केन्द्रमा धाउदै ठेक्काको म्याद थप्ने काम गरिरहेको पाइएको छ ।

त्रिबणी देखि माथी डोल्पाका बाँकी ६ वटा पालिकाहरु रहेका छन् । सडक निर्माण तिब्र बनाई डोल्पाको दुनै सम्म मात्र पिचको काम भएमा मात्र डोल्पाको ६० प्रतिशत अप्ठ्यारो काम हल हुने प्रदेशसभा सदस्य शेरबहादुर बुढाले बताए । अस्थायी कच्ची सडकमा अहिले यातायातका साधनहरु सञ्चालन गर्दा मृत्यु मार्गमा यात्रा गरेझैँ हुने बुढाले जानकारी दिए ।

जाजरकोट खण्डमा निर्माण गर्नुपर्ने पूलहरु समेत अहिले सम्म निर्माण भएका छैनन् । जाजरकोट खण्डमा सबै काम पुरा नहुन्जेल सम्म डोल्पा जान सहज नहुने देखिन्छ । भेरी करिडोर जाजरकोट रुकुम पश्चिम हुँदै डोल्पामा जोडिने गर्दछ । भेरी करिडोर सडक आयोजनाको बाँकी भागमा ठेक्का खोल्नका लागि आयोजनाका अधिकारीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालय धाउदा धाउदा हैरान भएको बताउने गरेका छन् ।

उपल्लो डोल्पाका तीन पालिकामा हुने विकास निर्माणका कामहरु यही सडकका कारण ढिलो हुँदै गएको छ । दुनैबाट उपल्लो डोल्पा जान र आउन अझैँ पैदल यात्रा गर्नुपरिरहेको छ । दैनिक उपभोग्य सामग्री देखि अन्य सामान लिन समेत घोडा , खच्चड तथा मानिसले पिठ्यूमा बोक्नु पर्ने बाध्यता रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए ।

राज्यले हामीलाई अकै देशको नागरिक झैँ व्यवहार गरेको उनको आरोप छ । डोल्पाको भान्सा अझैँ भारी महंगो रहदै आएको छ । इन्धन देखि अन्य दैनिक उपभोग्य सामग्री डोल्पा लिनका लागि बाँकेको राँजा स्थित विमानस्थलबाट हवाइ मार्ग हुँदै डोल्पाको जुफाल पुग्ने गरेको छ ।

समय , समयमा कुहिएको मासु देखि अखाद्य बस्तुहरु डोल्पामा पुग्ने गरेको छ । राँजा विमानस्थलमा डोल्पा पठाउने कुनै पनि सामग्रीको जाँच नहुँदा यस्तो समस्य हुँदै आएको हो । भारी सम्भावना रहेको डोल्पामा विकास निर्माणको काममा भएको सरकारी विभेदका कारण यहाँका नागरिकहरु पीडित बन्दै गएका छन् ।

डोल्पामा पुग्ने सरकारी अधिकारी समेत त्यहाँ लामो समय नबस्ने गरेको पाइएको छ । उपल्लो डोल्पाका अधिकांश कर्मचारीहरु चिसोको बहानामा व्यक्तिगत काम गर्दै जिल्ला बाहिर रहेका छन् ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार