
यामलाल कँडेल र हृदयराम थानी
सुर्खेत । भारतीय इतिहासकै उत्कृष्ट भनेर मानिने फिल्म शोलेमा जब गव्वरका सारा फौजलाई जय र बीरुको जोडीले धुलो पिठो हुने गरी कुटेर पठाउँछन्, तब गब्वरले हारेर फर्केका आफ्ना सहयोगी योद्धाहरूलाई सोध्छ, “कितने आदमी थे रु” सहयोगीले उत्तर दिन्छन्, “दो आदमी थे” शोले फिल्मका ती दुई पात्र जय र बीरु (दो आदमी) ले गब्बर नै झस्कने गरी उसका सहयोगीहरूलाई पिटेका थिए।
शोले फिल्मकै कहानीसँग मेल खाने गरी मङ्गलवार सुर्खेतको वीरेन्द्रनगरमा जय (थानी) र बीरु (कँडेल) को दमदार शो चल्यो। शो जय र बीरुको इलाकामा चलेको थियो। जय बीरुकै योजना बमोजिम दिनभर चलिरह्यो। जो जति दर्शकका रूपमा उपस्थित थिए, ती सबै उनीहरूका सहयोगी/समर्थक या ठाडै विरोध गर्न नसक्ने खालले निमन्त्रणा गरिएको थियो।
विकास विरोधी बिल्ला भिर्नुपर्ने भएकोले पनि नगरपालिकाले राखेको प्रस्तावको विपक्षमा कोही उभिएनन्। सबै क्षेत्रलाई खबर गरिएको भन्ने प्रचार गरेपनि केही सीमित व्यक्तिहरूलाई मात्रै बैठकमा बोलाइएको थियो। उनीहरूसँग वाद प्रतिवाद गर्न सक्ने व्यक्तिहरूलाई छिर्न नदिने योजना बनेको थियो।
“यसम्यान“हरुको सभामा प्रतिनिधि सभाका सदस्य हृदयराम थानी प्रमुख अतिथि थिए भने यमलाल कँडेल विशेष अतिथि थिए। उनीहरूले सुर्खेतको विमानस्थलको तत्काल विकल्प नदेखिएको भन्दै उचित मुआब्जा दिई तत्काल विस्तार गर्नुपर्ने धारणा राखे। अपेक्षा गरिए बमोजिमकै निर्णय पनि सार्वजनिक भयो ।
जसमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको विमानस्थललाई विस्तार गर्ने र यसका लागि राजनीतिक सहमति कायम गर्दै अघि बढ्ने सन्देश दिइएको छ। अर्को सन्देश सुर्खेतमा यसअघि लामो समयदेखि कायम रहेको खड्का भर्सेज थानी युद्धमा पहिले खड्कासँग नजिक रहेको ठानिएका एमाले नेता कँडेलको मित्रता थानीसँग बढेको छोडिएको छ।
खड्काले धेरै चलखेल गरे संयुक्त रूपमा प्रतिरोध गर्ने जनाउ पनि बैठकले दिएको छ। शोले फिल्ममा जय र बीरुको मित्रता अटुट रूपमा रहिरहन्छ। टोले गुण्डाका रूपमा असुली धन्दा चलाइरहेका उनीहरू जीवन जिउनका लागि स–साना पकेटमारी काममा संलग्न हुन्छन्। पटक पटक चोरी कै केशमा जेल पर्ने गरेका उनीहरूको बहादुरीताको ज्ञान ठाकुरलाई हुन्छ अनि उनीहरू ठाकुरसँग मित्रता गर्न पुग्छन्।
ठाकुरको परिवारमा गब्वरले ठुलो अन्याय गरेको हुन्छ।गब्वरले ठाकुरको छोरालाई मारिदिन्छ। ठाकुरको पनि दुई वटै हात काटिदिन्छ। विधवा बुहारीसँग जयको प्रेम हुन्छ भने टांगावाली बसन्ती बीरुकि प्रेमिका हुन्छिन्। बीरुकै आदेश र उपदेशमा उनी पनि ठाकुरको परिवारको सहयोगी बन्छिन्। बब्बर सिंको आतङ्कबाट आफ्नो गाउँलाई बचाउन ठाकुरले जय र बीरुलाई पैसाको प्रलोभन देखाइरहन्छ।
यसले ठाकुर र गव्वरको बिचको दुस्मनीमा जय र बीरु ठाकुरको सहयोगी बन्छन्। गब्बरसिंको आतङ्कबाट गाउँलेहरूलाई निकाल्न ठाकुरले हरसम्भव उपाय निकाल्छ। गब्बरसंगको अन्तिम युद्धमा गम्भीर घायल भएका जयको निधन हुन्छ। सिसाका टुक्राहरूमाथि नाच्न बाध्य पारिएकी वसन्तीलाई गब्वरको कब्जाबाट मुक्त गराइदिएपछि जयको अन्त हुन्छ। शोले फिल्मको सारांश यही हो।
तर, अहिले हामीले उभ्याउन खोजिएका दुई पात्र कँडेल र थानी भने कुनै समयमा जानी दुस्मन जस्तै थिए। उनीहरू बिचमा न कुनै सल्लाह हुन्थ्यो, न कुनै छलफल १ उनीहरू बिचमा शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनका लागि पहिलो पटक प्रतिस्पर्धा भएको थियो। नेविसंघको राजनीति गर्ने थानीले अनेरास्ववियुका नेता कँडेललाई हराएका थिए।
२०४६ सालको परिवर्तन पछि यी दुई नेता सुर्खेत आए। निर्वाचन क्षेत्र एउटै परेपछि उनीहरू बिचमा २०५१ सालदेखि निरन्तर प्रतिस्पर्धा चलेको छ। देश सङ्घीयतामा गइसकेपछि २०७४ को निर्वाचनमा कँडेल प्रदेश लागेपछि भने पछिल्ला दुई चुनावमा यी दुई बिचमा प्रतिस्पर्धा भएको छैन। सुर्खेतमा हुने खानेपानी,बन, स्कुललगायतका जुनसुकै ठाउँमा पनि यी दुई बिचमा नेतृत्वका लागि हानथाप हुन्थ्यो।
खड्का निकटहरूले कहिलेकाहीँ कँडेल समर्थकहरूलाई निर्वाचनमा सघाउने गरेको धेरै दृष्टान्त भेट्न सकिन्छ। यो बिचमा सुर्खेतको राजनीतिमा समेत निकै उथलपुथल आइसकेको छ। जिल्ला पार्टी लगभग आफ्नो नियन्त्रणमा राखिरहेका थानी अहिले पार्टी राजनीतिमा कमजोर अवस्थामा पुगेका छन्। खड्का प्यानलले स्थानीय, जिल्ला लगायतका लगभग सबै समितिमा कब्जामा जमाएको छ।
थानी सुर्खेतको पार्टीमा कमजोर भूमिकामा छन्। गत वर्ष भएको पार्टी महाधिवेशनमा पराजित भएपछि थानीको हैसियत खस्केको काँग्रेसकै कतिपय नेताहरू बताउँछन्। खड्काले चुनाव हार्ने निश्चित नभएको भए थानीलाई गत वर्ष भएको निर्वाचनमा टिकटसम्म नदिने प्रपन्च रचिएको थानी निकटका व्यक्तिहरूले नै बताउने गरेका छन्।
थानी निकटका व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारेर आफ्नो टिममा लैजाने गरेको थानी टिममा सक्रिय एक व्यक्तिको भनाइ छ। अर्कोतर्फ नेकपा एमाले भित्र सधैँभरि प्रतिपक्षीय भूमिकामा रहने गरेका कँडेल भने पछिल्ला वर्षहरूमा पार्टी भित्रको समीकरणमा बलियो साबित हुँदै आएका छन्। शिव उपाध्यायले २०७० मा विद्रोह गरेपछि जिल्लामा कँडेलको पकड झन् बढेको छ।
एमाले भित्र तत्काल उनको आसपाससम्म पुग्ने कोही पनि प्रतिस्पर्धी छैनन्। प्रदेश नेतृत्व आफू अनुकूल ल्याएका कँडेलको पार्टी केन्द्रमा भने राम्रो छैन। स्वयं केपी ओली कँडेलको प्रवृत्तिसँग असन्तुष्ट रहेको एमाले सुर्खेतको अर्को पक्षका एक नेता बताउँछन्। जे होस एयरपोर्टकै विषयलाई लिएर भए पनि यी दुई बिचमा हिमचिम बढेको छ।
सुर्खेतमा तत्काल अर्को ठुलो खाले विमानस्थलमा बन्ने अवस्था नदेखिएकोले अहिले कै विमानस्थलको रनवे विस्तार गर्नुपर्ने लाइनमा सुर्खेतको जनमत छ। वीरेन्द्रनगरबाट भेरीगंगाका नयाँ एयरपोर्ट विस्तार गर्न कठिन भए पनि पार्टी र सरकारमा दोस्रो पोजिसनमा भएकोले निर्णय गराउन सकिन्छ भन्ने आत्मविश्वास खड्कामा छ। यसैले उनको जोड भेरीगंगामा क्षेत्रीय स्तरको एयरपोर्ट बनाउनु पर्छ भन्नेमा छ।
पछिल्लो पटक थानी खेमाले आफूले उम्मेदवार नपाएको ठाउँमा कँडेल खेमालाई जिताउने गरेको आरोप लाग्दै आएको छ। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारहरूलाई सहयोग नगरी एमालेका उम्मेदवार जिताउन थानी पक्ष लागेको भन्ने खड्का पक्षको आरोप गत वर्ष भएको संघ र प्रदेशको निर्वाचनमा लगभग गठबन्धनले विजय प्राप्त गर्छ भन्ने गरेको सुर्खेत २ क मा कँडेलले जितेपछि पुष्टि भएको खड्का पक्षको बुझाई छ।
विमानस्थलको धावनमार्ग विस्तार गर्न एकमत
पछिल्ला दिनमा चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तारको लागि मंगलबार बसेको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ । मङ्गलवार नगरपालिकाले सुर्खेत विमानस्थलको रनवे विस्तारका विषयमा सर्वदलीय सर्वपक्षीय बैठकको आयोजना गरेर उक्त निर्णय गरेको हो । बैठकमा हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सङ्घीय सरकारसँग माग गरिएको छ ।
विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने, अमर ज्योति नमुना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने समेत निर्णय गरेको छ ।
वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकालले बैठकमा कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सङ्घीय सरकारसँग माग गर्ने बताइन् । उनले सुर्खेत विमानस्थलबाट दैनिक रूपमा ३ सय भन्दा बढी यात्रुहरू आवत-जावत गर्ने भएकाले आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने र सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट गरिएका निर्णयहरू कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडी बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने बताएकी छन् ।
२०७७ माघ ३ गते वीरेन्द्रनगर नगरपालिकाले कार्यपालिका बैठकबाट नै विमानस्थल विस्तार कार्य तत्कालका लागि रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयबाट विमानस्थलबारे विभिन्न टीकाटिप्पणी हुन थालेका थिए । अन्ततः नगरपालिका अव पुरानो निर्णयबाट ब्याक हुँदै सुर्खेत विमानस्थल विस्तारमा अग्रसर भएको हो।
आफैले विस्तार कार्य रोक्न निर्देशन दिएको नगरपालिका अहिले भने विस्तार गर्न तयार बनेको छ । २०७७ माघ ३ गते वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले विमानस्थल विस्तार कार्य तत्कालका लागि रोक्ने निर्णय गरिदिएको थियो । त्यति बेला यहाँका नगरप्रमुख सुवेदीलाई कार्यक्रममा बोल्न दिइएको थियो ।
सुवेदीले आफ्नो अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट विमानस्थल विस्तार कार्य तत्कालका लागि रोक्ने निर्णय गरेको स्वीकार गर्दै परिस्थितिजन्य निर्णय गर्न बाध्य भएको बताएका थिए। उनले नगरपालिकाले राखेका प्रस्तावहरू बारे धेरै सोच्नुपर्ने बताए । उनले विकासका नाममा धेरै रोटी नसेक्न चेतावनी दिए।
उनले भने, ‘धेरै रोटी सेकेमा डढ्न सक्छ, नगरपालिकाले आज राखेका प्रस्तावहरू बारे धेरै सोच्नुपर्छ, न त सुर्खेतवासी हिजो नै बाधक थिए, न त आज नै छन्।’ उनले विमानस्थल विस्तारका बारेमा पानी माथिको ओभानो बन्न खोजेर प्रतिक्रियाहरू आएको बताए । नागरिक समाजका अगुवा पिताम्बर ढकालले सुर्खेत विमानस्थलमा धेरै लगानी लागिसकेको हुँदा अव अन्तिम पटक उत्तरतर्फ धावनमार्ग विस्तार गर्ने काममा ढिलो नगर्न आग्रह गरेका छन् ।
उनले वर्तमान विमानस्थलको विस्तार नभएमा वीरेन्द्रनगरको अस्तित्व नै नै नरहने दाबी गरे । उनले अहिले सञ्चालन भएका विमानहरूले सुर्खेत विमानस्थलमा ल्याण्ड गर्नेबेलामा आकाशमै बेक्र लगाउने गरेको गुनासो गरे । उनले आकस्मिक केही भएर विमान ठोकिएमा त्यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरेका थिए ।
सरकारले उत्तरतर्फ रहेको अमर ज्योति माविलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय निर्माण र पीडितहरूलाई सरकारी दरभन्दा पनि चलनचल्तीको क्षतिपूर्ति दिएर धावनमार्ग विस्तार गर्न उनले सुझाव दिए । यस कामको सुरुवात गर्न नगरपालिकालाई आग्रह गर्दै उनले अव विगतको कुरा नहेरी भविष्यतर्फ मोडिन आग्रह गरेका छन् ।
उनले विमानस्थल विस्तारका लागि आफू बसेको घर समेत छोड्न तयार भएको बताए । प्रभावित क्षेत्र अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले विमानस्थल विस्तारको लागि विद्यालय बाधक नभएको प्रष्ट पारे । उनले सरकार आफै प्रष्ट नरहेको तर आरोप भने विद्यालयलाई लगाइरहेको बताए । ‘
जहिले विद्यालयलाई मात्रै भन्छन्, विद्यालय वाधक छैन,’ उनले भने, ‘बरु हामी भौतिक संरचना निर्माण गर्न लाग्दा विमानस्थलको विस्तार हुन्छ, भवन भत्काउनुपर्छ मात्रै भन्ने विमानस्थल पनि विस्तार नगर्ने हामीलाई भौतिक संरचना पनि निर्माण गर्न नदिने, यो सरकार नै प्रष्ट छैन । ’ उनले उपयुक्त स्थानमा जग्गा र भवन बनाइदिएमा विमानस्थल विस्तार गर्न सकिने उल्लेख गरे ।
‘हामीलाई उपयुक्त ठाउँमा विद्यालयको भवन बनाइदिनुहोस् हामी सर्न तयार छौँ,’ उनले भने, ‘यसका लागि सङ्घीय सरकारले पनि सहयोग गर्नुपर्छ । यस्तै, अमर ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले प्रभावित बासिन्दाहरूलाई न्यायोचित क्षतिपूर्ति र विमानस्थल पायक पर्ने स्थलमा स्थानान्तरण गरी निर्माण गरिदिएमा धावनमार्ग विस्तार सम्भव भएको बताए ।
उनले जनताका मागअनुसार काम गर्न आग्रह समेत गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले विगतमा तीन तहका सरकारले विमानस्थल धावनमार्ग विस्तारको मुद्रालाई प्राथमिकतामा नपारेको बताए । उनले सकेसम्म सबै एकताबद्ध भएर अगाडि बढ्न सकेमा विमानस्थलको विस्तार हुने बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेशको समृद्धि र विकासमा राजनीति इगो नराख्न आग्रह गरे । उनले विकास निर्माणमा निजी क्षेत्रहरू सधैँ सहयोग गर्न तयार रहेको बताए । यस्तै, सांसद जानकी सिंहले सुर्खेतको विमानस्थलसँगै कर्णालीको विकासको लागी सबै राजनीतिक दलहरू मिल्नुपर्नेमा जोड दिइन् ।
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले भएकै विमानस्थललाई विस्तार गर्नुपर्ने बताए । उनले विकास गर्दा विनाश हुनु स्वाभाविक भएको बताउँदै सुर्खेत विमानस्थल विस्तारका विषयमा भइरहेकै संरचनाबाट जनतालाई थप व्यवस्थित गरी सेवा दिनुपर्ने बताए ।
उनले भने, ‘विकास गर्दा विनाश हुन्छ, यहाँ मात्रै होइन, सबै ठाउँमा यस्तै हो, त्यसैले कति विनाश हुन्छ, यही विमानस्थललाई विस्तार गरौँ, अमर ज्योति माविलाई बरु अन्य ठाउँमा स्थानान्तरण गरौँ,’ उनले थपे, प्रदेश सरकारको बजेट धमाधम फ्रिज गइरहेको छ, त्यसैले अम्मर ज्योति माविको भवनका लागि प्रदेश सरकारले बजेट छुट्टाओस्, त्यसपछि विमानस्थल पनि बन्छ, भवन पनि बन्छ।’
उनले विमानस्थल विस्तारबारे सबै एकजुट हुनुपर्ने बताए । विमानस्थल विस्तारका लागि एक स्वरले माग राख्नुपर्ने नेता कँडेलको भनाइ छ । उनले मङ्गलवार भएको छलफलले विमानस्थल बनाउने भन्दा पनि अहिले सरोकारवाला निकायलाई माग राख्ने प्रक्रियाको सुरुवात गरिएको बताए ।
नयाँ विमानस्थल बनाउने नाममा भएको ईआइए प्रतिवेदनमा लेखिएको कुराले सबैमा आशङ्का उब्जाएको बताउँदै उनले त्यसका लागि पनि आजको बैठक आवश्यक भएको बताए । कँडेलले अहिलेको विमानस्थल सुर्खेती जनताले रोजेको विषय भएको बताए । नेपाली काँग्रेस संसदीय दलका नेता एवम् तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले ‘फाइल क्लोज’ गरेको उनले आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथि सुर्खेत क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हृदयराम थानीले ५७ वर्ष पुरानो सुर्खेत विमानस्थललाई नै विस्तार गर्नुपर्ने माग राख्दै केन्द्रमा लबिङ गरिरहेको बताए । उनले प्रदेशसभा बैठकमा समेत बारम्बार सुर्खेत विमानस्थललाई नै विस्तार गर्नुपर्ने बताउँदै आएको प्रष्ट पारे ।
उनले विमानस्थललाई विस्तार गरिसकेपछि मात्रै अन्य ठाउँमा विमानस्थल बनाउन सकिने धारणा राखे । ‘पहिले यस विमानस्थललाई विस्तार गरौँ, त्यसपछि अन्य ठाउँमा जति पनि विमानस्थल बनाउनुपर्छ। म लगायत अन्य साथीहरूले पनि सहयोग गर्नुहुन्छ,’ उनले भने । साथै उनले कर्णाली प्रदेश हेर्न लायक बनाउनलाई पनि सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने बताए ।
उनले भने ‘कर्णाली प्रदेशलाई आकर्षक, सम्पन्न र हेर्न लायक बनाउने हो भने त्यसका लागि सुरुमा सुर्खेत विमानस्थललाई विस्तार गर्नुपर्छ ।’ उनले पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दल कर्णालीका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री पदमा पुग्न बित्तिकै सुर्खेत विमानस्थल च्याप्टर क्लोज गरेकोमा रोष प्रकट गरे । विमानस्थलको धावनमार्ग तीन सय मिटर हुनुपर्ने र यसका लागि १ सय २० कठ्ठा जग्गा अधिग्रहण हुने जानकारी दिए। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।