२०८३ वैशाख १४ , सोमबार

प्रदेशस्तरीय वातावरणीय अध्ययन सम्बन्धी ५ दिने तालिम सम्पन्न



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वातावरणीय अध्ययन सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र युएसएआइडी जङ्गलको संयुक्त आयोजनामा सञ्चालित सो तालिम सम्पन्न भएको हो ।

तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट डिभिजन वन अधिकृत,घरेलु तथा उपभोक्ता हित संरक्षण अधिकृत, प्रदेश वन निर्देशनालयका निर्देशक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक, भु–संरक्षण तथा जल कार्यालय जुम्ला र सुर्खेतका अधिकृत र प्रदेशमा रहेका विभिन्न मन्त्रालयबाट अधिकृत स्तरका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षार्थीहरूलाई कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोद प्रसाद देवकोटा, कानुन अधिकृत खगेन्द्र कुमार खत्री, वन अधिकृत नीरज श्रेष्ठ, युएसएआइडी जङ्गल परियोजना प्राविधिक निर्देशक नारायण बेल्वासे, कर्णाली भु–परिधि टिम लिड भूपेन्द्र शाही, वातावरणविद् निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।

प्रदेश वन अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक राजेन्द्र वासुकलाको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै उनले जैविक विविधता एवम् प्रकृति संरक्षणका कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।

तालिममा प्रशिक्षित सहभागीहरूलाई सचिव देवकोटाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा सहभागीहरूले विकास निर्माणका कार्यहरू गर्दा वातावरणीय पक्षहरू महत्त्वपूर्ण भूमिका हुने, वातावरणीय पक्षलाई ध्यान दिँदा विकास निर्माणका कार्यहरू दिगो हुनुका साथै वातावरणीय कानुनको प्रभावकारी कार्यान्वयनका लागि समेत तालिमको औचित्य रहेको बताएका थिए ।

प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार