सुर्खेत । चौकुने गाउँपालिकामा विवादित बनेको नेकपा एमालेमा सहमति भएको जनाएको छ । शुक्रवार चौकुने गाउँपालिकाको गुटुमा कमिटीको सचिवालयको वैठक बसेर एमालेको असन्तुष्ट समूह र निर्वाचित समूहबीच सहमति भएको हो ।
चौकुने गाउँपालिकामा निर्वाचित पालिका कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीलाई जिल्ला पार्टीले निलम्बन गरेपछि एमालेमा विवाद चुलिएको थियो। नेकपा एसका अध्यक्ष मोहोनकुमार बडुवाल एमाले प्रवेश गरेसंगै उनी निकट सदस्यहरुसमेत समेटेर चौकुने कमिटी गठन गरिएको थियो।
नयाँ कमिटी गठन गर्दा अध्यक्ष हरिप्रसाद अधिकारीको कमिटीमा रहेका सदस्यहरुलाई हटाईएको थियो।असन्तुष्ट समूहले पछि यामलाल अधिकारीको अध्यक्षतामा अर्को कमिटी गठन गरेपछि विवाद चरमचुलीमा पुगेको थियो।
गत २०७८ कार्तिक १४ र १५ गते भएको पालिका अधिवेशनबाट हरिप्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएपछि एमालेको अर्को टिम असन्तुष्ट बनेको थियो । अधिकारीलाई निलम्बन गरिएपछि जिल्ला पार्टीले शंकर कामीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेसंगै कमिटीका अध्यक्ष यामलाल अधिकारीको अध्यक्षतामा बिद्रोही कमिटी बनेको थियो।
उक्ति कमिटीले पालिकाका १० वटै वडा कमिटीमा नयाँ कमिटी गठन गर्ने उद्देश्यले वडा संयोजकहरु तोकेको थियो । साथै विद्रोह समुहले वडा अधिवेशन तोक्ने मात्रै होइन केही वडाको अधिवेशन समेत सम्पन्न गरिसकेको थियो ।
उक्त समुह नै शुक्रवार हरि अधिकारीको नेतृत्वमा बनेको कमिटीमा समायोजन भएको छ । पहिले असन्तुष्ट जनाएर पुनः उही कमिटीमा समायोजन भएपछि विद्रोह समुहप्रति विभिन्न प्रश्न उठेका छन् । नर्विाचित अध्यक्ष अधिकारीले विद्रोह समुह आफ्नो कमिटीमा सहमतिका साथ शुक्रवार समायोजन भएको जानकारी दिए ।
उनले गुटुमा छलफल गरि उक्त समुहलाई समायोजन गर्ने लगायत अन्य केही महत्त्वपूर्ण निर्णयहरु गरेको जानकारी दिए । उनकाअनुसार बैठकबाट तत्कालिन अवस्थामा एकिकृत समाजवादीबाट आएका उपाध्यक्ष उपसचिव र सदस्यलाई यथावत राख्ने, यामलाल अधिकारी (असन्तुष्ट समुह) को कमिटीमा भएका विभिन्न पदाधिकारी लाई विघटन गरेर यस समुहमा समावेश गर्ने र चौकुने एमालेको पुूर्ण भेला आगामी माघ १३ गते गर्ने निर्णय भएको छ ।
पूर्ण भेलामा एमाले सुर्खेतका पदाधिकारी, प्रदेश सदस्यहरुको सहभागिता रहने विश्वास आफुले लिएको अध्यक्ष अधिकारीले जानकारी दिए । पालिकामा बसेर गरेको निर्णयलाई जिल्लाले मान्छ त भनेर प्रश्नमा अध्यक्ष अधिकारीले समूह गठन गर्ने जिम्मा जिल्लाले पालिकालाई दिएकोले उक्त निर्णय मान्नुपर्ने बताए ।
‘जिल्लाले नमान्ने भन्ने हुन्न्, यो त पालिकाले गर्ने निर्णय हो, अव स्वयम् निर्वाचित अध्यक्ष हो, त्यसैले नमान्ने भन्ने हुँदै हुँदैन् ।’ उनले भने । उनकाअनुसार शुक्रवार गरेको निर्णयमा यामलाल, शंकरबहादुर कामीले पनि सहमति जनाउँदै हस्ताक्षर गरेका छन् ।
यसबारेमा सुर्खेत जिल्ला कमिटीका अध्यक्ष अमृतकुमार बिसीले सहमति भएकोमा आफूलाई खुसी लागेको बताउँदै पार्टीलाई थप सुदृढीकरण गर्ने सबैले पार्टीमा काम गर्ने वातावरण बनेको बताए । उनले यसमा पार्टी मजबूत बनेको समेत बताए । उनले अन्य समूह गठन गरेर पार्टीलाई नै हलचल बनाउनुपर्ने आवश्यकता नभएको बताए ।
