
दाङ । दाङको भालुवाङस्थित राप्ती नदीको पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको घटनास्थलमै मृत्युु भएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ भने अन्य ४ जनाको सनाखत हुन बाँकी छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय , बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।
शवलाई लमहीस्थित अस्पतालमा राखिएको छ । २३ जनालाई उपचारकालागि बुटवल र नेपालगञ्ज रिफर गरिएको छ । शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका थिए । बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।