२०८३ वैशाख १४ , सोमबार
कर्णाली प्रदेश सरकारको उपलब्धी

एक वर्षमा ३३ किलोमिटर पक्की सडक निर्माण

आन्तरिक काम र कानुन प्रक्रियामै व्यस्त भएको मुख्यमन्त्री शर्माको भनाइ


मुख्यमन्त्री राजकुमार शर्मा एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै

कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिवार मुख्यमन्त्री शर्माले पत्रकार सम्मेलन गरी आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन् । जसमा कर्णाली प्रदेश सरकारले एक वर्षमा ३३.६२ किलोमिटर पक्की सडक निर्माण गरेको छ ।

यो अवधिमा १४९.४१ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । २०७९ पुस २७ गते कर्णाली सरकारको नेतृत्व गर्दै नेकपा माओवादी केन्द्रबाट शर्मा मुख्यमन्त्री बनेका थिए । यस अवधिमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सेवा प्रवाहको क्षेत्रमा जनअनुभूति हुनगरी काम गरेको उनले बताए ।

मुख्यमन्त्री शर्माले आफ्नो नेतृत्वको सरकारले १ वर्षको अवधिमा सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै पूर्वाधार क्षेत्रमा उल्लेख्य कार्य गरेको बताएका छन् । १ वर्षको अवधिमा ७ वटा सडक पुल तथा ५१ वटा झोलुङ्गे पुल निर्माण, ७२५.०५ किलोमिटर नयाँ ट्रयाक खोलिएको मुख्यमन्त्री शर्माको कार्य प्रगतिमा उल्लेख छ ।

यसैगरी १ सय ४४ किलोमिटर पक्की सडक नाला निर्माण, ६ सय २२ वटा जनता आवास तथा विपन्नको घर निर्माण, ३ वटा भवन निर्माण भएका छन् । गत आर्थिक वर्षको अन्तमा निर्वाचन क्षेत्रगत तथा पूर्वाधार विशेष कार्यक्रमबाट भवन ८७, सडक ६५, विद्युतीय संरचना ५, तटवन्ध ३०, सिंचाइ ३१, खानेपानी २७ र अन्य १०५ गरी जम्मा ३०५ आयोजना प्रदेश सरकारबाट सम्पन्न भएका जनाइएको छ ।

यसैगरी यो अवधिमा तीनवटा यातायात कार्यालयहरुवाट वस, मिनीवस,ट्रक गरी ४०५ ट्रयाक्टर, पावरटेलर ११७, कार, जीप, पीकअप, माइक्रोबस गरी जम्मा ६३९ मोटरसाइकल, स्कुटर, मोपेड ३ हजार ४२६ र टेम्पो अक्टोरिक्सा १२४ गरी जम्मा ४ हजार ७ सय ११ वटा सवारीसाधन दर्ता भइ आम्दानी, दर्ता, जरिवाना लगायतबाट जम्मा २९ करोड ५२ लाख ६२ हजार ४ सय २८ राजश्व सङ्कलन भएको छ ।

यस्तै आर्थिक वर्ष ०७९/०८० मा साना सिँचाई तथा मर्मत सम्भार तर्फ ७ सय ८८ वटा सिंचाई योजना निर्माण सम्पन्न भई १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुधार तथा १ सय १५ हेक्टर जमिनमा सिँचाई सुविधा थप भएको मुख्यमन्त्री शर्माले बताए । सिँचाई योेजना निर्माण तथा मर्मत सम्भारको क्रममा १५ हजार २ सय २० जनालाई २ महिना बरावरको अस्थायी रोजगारी सृजना भएको, जसबाट १८ हजार ४ सय ५६ घरधुरी लाभान्वित भएका उनले आफ्नो प्रगति विवरणमा समेटेका छन् ।

यो अवधिमा मुख्यमन्त्री शर्माले हिँउदे फलफुल क्षेत्र विस्तारका लागि ४९ हजार ८ सय स्याउ २६ हजार ४ सय ३६ ओखर, ८ हजार ९ सय किवी र ६ सय ड्रागनफल गरी जम्मा ८५ हजार ७ सय ३६ बिरुवा वितरण गरी करीव २ सय १५ हेक्टर क्षेत्रफल विस्तार भएको, जसमा ३ सय ५ घरधुरी प्रत्यक्ष लाभान्वित २ सय ५० जनाले १५ दिन वरावरको प्रत्यक्ष रोजगारी प्राप्त गरेको बताए । यस कार्यक्रमबाट ३ सय जनालाई पूर्ण स्वरोजगारी सृजना भएको उनको भनाइ छ ।

व्याज अनुदान कार्यक्रम मार्फत ४ करोड ३१ लाख लगानीमा ८७ करोड ८३ लाख पंजी कृषि क्षेत्रमा परिचालन भएको १ हजार ३ सय ५७ जना एक प्रत्यक्ष सहभागि भएका छन् । जसबाट ८ सय ५० जना पूर्ण स्वरोजगार भएका छन् ।कर्मचारी प्रशासन तथा सेवा प्रवाह र विकास निर्माणमा एक वर्षे कार्यकाल उत्कृष्ट रहेको मुख्यमन्त्री शर्माको दाबी छ ।

प्रदेश सरकारको १ वर्षे कार्यकालमा अन्तरतह समन्वय तथा सहकार्यको काम परिणाममुखी भएको उनले बताए । सो अवधिमा हेटौँडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक गरी ९ बुँदे निर्णयको पत्र प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पेस गरिएको उनको भनाइ छ । यसैगरी उनले आन्तरिक काम र कानुन प्रक्रियामै व्यस्त रहेकाले सोचे अनुरुप काम गर्न नसकेको बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० पुस २९ गते आइतबार