
सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनको मिति सरेको छ । यसअघि अनेरास्ववियु कर्णाली प्रदेशले माघ ५ र ६ गते जुम्लाको खलंगामा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर अनेरास्ववियु कर्णाली प्रदेशका संयोजक ललित जंग मल्लले एक विज्ञप्ति जारी गर्दै परिस्थितिजन्य विषयले उक्त मिति तथा स्थानमा अधिवेशन गर्न सम्भव नभएकाले मिति र स्थान परिवर्तन गरिएको जानकारी दिएका छन् । उनले अब अधिवेशन दैलेखको सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा माघ ७ र ८ गते हुने जानकारी दिए ।
अधिवेशन सम्पन्न गर्नका लागि आयोजक जिल्लाको हैसियतले अनेरास्ववियु दैलेख जिल्ला इन्चार्जको संयोजकत्व र अनेरास्ववियु दैलेख जिल्ला सह-इन्चार्ज तथा जिल्ला अध्यक्षको सह-संयोजकत्वमा सिङ्गो अनेरास्ववियु दैलेख जिल्लाका पदाधिकारीहरु र सदस्यहरु रहेको मञ्च व्यवस्थापन, स्वयंसेवक र आवास तथा खाद्य व्यवस्थापन उप-समितिलाई आफ्नो काम कारबाही अघि बढाउन पनि आग्रह गरिएको छ ।