२०८३ वैशाख १४ , सोमबार

सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु



हुम्ला । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु गरिएको छ । करिडोरको सडकमा स्थानीयले आफु खुसी निर्माण गरिएका घर टहरा हटाउनका लागि सम्बन्धित वडा र गाउँपालिकाले सूचना जारी गरेपछि भत्काउन सुरु गरिएको हो ।

सर्केगार्ड बजारका स्थानीय सूर्यबहादुर शाहीले बजार क्षेत्रको सडकमा जथाभावी निर्माण गरिएका घर टहरा भत्काउन सुरु गरिएको जानकारी दिए । उनले सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा एक दिन भत्काउनै पर्ने भएका कारण सम्बन्धित व्यक्ति आफैँले भत्काउन सुरु गरेको बताए ।

आइतबार पहिलो दिन दुई वटा टहरा सम्बन्धित व्यक्तिले भत्काएर सुरुवात गरेको उनले जानकारी दिए । मुख्य सडक छेउछाउमा जथाभावी निर्माण गरिएका घर टहरा भत्काउनका लागि सर्केगार्ड गाउँपालिकाले १५ दिने सूचना जारी गरेकोे थियो ।

गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले गाउँपालिकाको सूचनालाई आधार मानेर सडक किनारमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएकोमा खुसी व्यक्त गरे ।अब सडक क्षेत्रमा निर्माण गरिएका बाँकी संरचना चाँडै भत्काएर सहयोग गर्न उहाँले स्थानीयलाई अनुरोध गरे ।

सो क्षेत्रको दुई सय मिटरमा पर्ने सर्केगार्ड खोलापारीदेखि मुख्य बजारसम्म चार वटा पक्की घर र ६६ वटा टहराहरु भत्काउनु पर्नेछ । स्थानीयले जथाभावी निर्माण गरिएका घरटहरा भत्काउने कार्य गरेपछि हिल्सा सिमकोट सडक आयोजनाले सो क्षेत्रको सडकलाई चौढा र स्तरोन्नती गर्ने कार्य सुरु हुने जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधबार