सुर्खेत । सल्यानमा बोल्न नसक्ने एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सल्यान प्रहरीले बनगाड नगरपालिका–४ डोप्के भन्ने गाउँका २४ वर्षीय रामबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।
आइतबार युवतीकी आमाले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरीमा घरमा कोही नभएको बेला रामबहादुरले बोल्न नसक्ने आफ्नो छोरीलाई जबरजस्ती हात तानेर घरको पछाडि लगेको र जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।
सोही आधारमा प्रहरीले बुढाथोकीलाई मंगलवार पक्राउ गरेको हो । बुढाथोकीलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए । उनलाई बुधबार सार्वजनिक गरिएको हो ।
युवतीको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेका बुढाथोकीलाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।