२०८३ जेठ २७ , बुधबार

शंकर पोखरेलको एकल उर्दी निर्वाचन कमिटीद्वारा खारेज, एमाले कर्णालीको उपसचिवमा रमेशकुमार शाही कायम



सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेशको उपसचिव पदमा विजयी घोषणा गरी सपथ खाएका रमेश शाहीलाई पदमुक्त गरी पद्मा खड्कालाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न एमालेको निर्वाचन आयोगले आह्वान गरेको छ ।

बुधबार बसेको एमाले केन्द्रीय निर्वाचन आयोगको बैठकले निर्वाचन परिणाम, पार्टी विधान, निर्वाचनसम्बन्धी नियमावली, निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रमेशकुमार शाही नै वैधानिक उपसचिव भएको ठहर गरेको छ ।

‘निर्वाचनमा भएको सम्पूर्ण काम कारबाहीलाई अधिवेशनका सहभागी प्रतिनिधिले चित्त बुझाई रीतपूर्वक निर्वाचन सम्पन्न भई निर्वाचन कमिटीले पार्टी विधान, केन्द्रीय निर्वाचन आयोग नियमावली २०७९, केन्द्रीय निर्वाचन नियमावली २०७९ को अधीनमा रही निर्वाचन कमिटीले निर्वाचन परिणाम घोषणा गरेको अवस्था देखिएको छ,’ आयोगको पत्रमा भनिएको छ ।

पत्रमा अगाडि भनिएको छ, ‘निर्वाचनसम्बन्धी सामान्य अभ्याससमेतका आधारमा रीतपूर्वक नै रहेको देखिएको हुँदा रमशेकुमार शाही प्रदेश कमिटीको उपसचिव पदमा वैधानिक रूपमा निर्वाचन भएको देखिएकाले निजलाई प्रदेश कमिटीमा उपसचिव पदमा रही कामकारबाही गर्न दिनू भनी सम्बन्धित कमिटीमा लेखी पठाउने भन्ने पार्टी केन्द्रीय निर्वाचन आयोगको सचिवालयको मिति २०८०/१०/०३ मा निर्णय भएको हुँदा सोहीबमोजिम गर्न गराउन हुन जानकारीका लागि अनुरोध छ ।’

यसअघि मंसिर ११ गते एकाएक एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय सचिवालयको कात्तिक २२ गते बसेको २५औं बैठकले गरेको निर्णय भन्दै खड्कालाई उपसचिव बनाएको उर्दी प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पठाएका थिए ।

“कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने, रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने’ महासचिव पोखरेलले प्रदेश कमिटीलाई पठाएको पत्रमा भनिएको छ ।

पोखरेलले चुनावबाट निर्वाचित भएका शाहीलाई एकाएक जिम्मेवारीबाट अलग गरेर खड्कालाई जिम्मेवारी दिएपछि विवाद चुलिएको थियो । २२ कात्तिकमा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई जिम्मेवारीबाट मुक्त गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो ।

ख्ड्का पूर्व प्रदेश सभा सदस्य साथै अनेमसंघकी प्रदेश पूर्व अध्यक्ष हुन् । असोजमा सम्पन्न निर्वाचनमा यामलाल कँडेल पक्षका गुलावजंग शाह अध्यक्ष निर्वाचित हुँदा सुर्खेतकी पद्मा खड्का गोरख बहादुर बोगटी टिमबाट उपसचिवको उम्मेदवार बनेर पराजित भएकी थिईन् । अध्यक्षमा निर्वाचित शाहको टिमबाट उपसचिवमा दैलेखका रबिन्द्रराज शर्मा र रमेश शाही निर्वाचित भएका थिए ।

शाहीले २ सय ६६ मत ल्याएर उप–सचिव पदमा विजयी भएका हुन् । खड्काले भने १ सय ५२ मत ल्याएर पराजित भएकी थिइन् । अध्यक्ष मण्डलले तयार पारेर दिएको पदसंख्या र निर्वाचित हुने समूह (क्लस्टर) अनुसार निर्वाचन कमिटीले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो विवाद बढेपछि आफूलाई उपसचिव तोक्न माग गर्दै खड्काले पार्टीको निर्वाचन आयोगमा उजूरी दिएकी थिईन् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार