२०८३ जेठ २७ , बुधबार

वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयमा यातायात व्यवसायीबीच झडप, दुई जना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरको विषयमा दुई यातायात प्रालिबिच झडप हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर–१० बुलबुले चौक नजिकै भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिबिच टिकट काउन्टरको विषयलाई लिएर शनिवार बिहान झडप हुँदा दुई जना घाइते भएका हुन् ।

संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिका सचिव डिल बहादुर गौतमले खबरदृष्टिलाई जानकारी दिए । यता, संयुक्त यातायात सेवा सुर्खेतका प्रतिनिधी एवम् देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले भिजिट यातायात प्रालिलाई मनोमानी तरीकाले नभई व्यवस्थित तरिकाले वसपार्कबाट टिकट काट्न अनुरोध गरेको बताए ।

‘हामीले उहाँहरुलाई बसपार्क आउनुहोस् बसपार्कबाट टिकट काट्नु यो अव्यवस्थित भयो भन्यौ, तर उहाँहरुले आफै मनोमानी तरिकारले टिकट काट्न थाल्नुभयो भनेको नमानेपछि हामीले आज उहाँको कार्यालय घेराउ गरेका हौ,’ उनले खबरदृष्टिसँग भने ।

केही समयअगाडि दुई समूहको झडपपछि रत्न राजमार्ग बन्द भएको थियो । उक्त राजमार्ग अहिले भने सुचारु भएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइते भएका दुवै जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार