
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षीय विराज भण्डारी पातमा आकृति कोर्न सिपालु छन् । उनी पिपलको हरियो पातमा आकृति कोरेर आम्दानीसमेत गर्छन् । विराजले पहिले लिफआर्ट प्रतिस्पर्धा गर्थे । विस्तारै पातमै मानिसलगायतका विभिन्न वस्तुको आकृति कोरेर उनी चर्चामा आए ।
आफूले सन् २०२० मा लकडाउनको समयमा युट्युबमा हेरर यो कला सिकेको उनी बताउँछन् । उनले भने, ‘सिक्दा सिक्दै पातमा आकृति बनाउने कलामा प्रतिस्पर्धा पनि गरियो । पछि राम्रो नतिजा आएपछि विगत २, ३ वर्षदेखि पातमा आकृति कोरेर रमाइरहेको छु । सबैभन्दा पहिला भारतको ताजमहलको तस्बिरको आकृति पातमा बनाएको देखेपछि यसको नक्कल गरेर पातको चित्र कोर्न शुरु गरेको हुँ ।’
शुरुमा नेपालको नक्सा कोरेर हेर्दा राम्रो लागेको विराजले बताए । त्यस पछि विस्तारै पातमा विभिन्न प्रकारका आकृति कोर्ने आफ्नो दैनिकी बनेको उनको भनाइ छ । उनले अहिले विभिन्न मानिसका आकृति समेत निकालेर चित्र कोर्न थालेका छन् । उनले अहिलेसम्म करिब दुई हजार पाँच सय मानिस तथा विभिन्न महत्व राख्ने स्थानका चित्रको आकृति कोरिसकेका छन् ।
त्यस्तै पातमा कोरेको चित्रले सामाजिक सञ्जालमा पनि निकै वाहावाही पाएपछि उनले यसलाई झन निरन्तरता दिँदै आएका छन् । अहिले मानिसहरुका आकृति जस्ताको तस्तै बनाउन थालेपछि उनले यसबापत पारिश्रमिक पनि पाउने गरेका छन् । एउटा पातको आकृतिबाट एक हजारदेखि माथि आम्दानी हुने गरेको विराज बताउँछन् ।
विराजले पातमा आकृति बनाउनुका साथै आशिंक समयमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यापन पनि गराउने गरेका छन् । उनले भने, ‘मेरो सीपको कदर गर्दै आशिंक प्रशिक्षकको रुपमा अवसर पनि दिइएको छ ।’ जुम्लाको जनता मावि महत गाउँमा हाइस्कुल, नासा कलेज काठमाडौंमा प्लस टु हुँदै गौरादहमा बीएसी एजी उत्तीर्ण गरेका विराजको यो सीप देखेर यहाँका स्थानीय दंग छन् ।
कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले विराजमा पातमा चित्र र आकृति कोर्ने राम्रो कला भएको बताए । उनले भने, ‘सबै कलालाई सम्मान गर्न जरुरी छ ।’ विराजले पछिल्लो समय कुलमान घिसिङ, बालेन्द्र शाह, लक्ष्मी प्रसाद देवकोटासहितका व्यक्तिहरुको पातमा आकृति कोरेका छन् । विराजले विशेषगरी पिपलको पातमा चित्र कोर्ने गरेका छन् ।