
मुगु । जिल्लाको सोरु गाउँपालिका– ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाउँपालिका– ६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले बताए ।
जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाउँभर बिरामी छन्, तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकसहितको टोलीबाट सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला अस्पतालका चिकित्सक कमल ढुंगानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण रहेको बताए ।