
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आफ्नो एक वर्षे कार्यकालमा भएका कार्यप्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिसीले कर्णाली प्रदेश प्रदेशका लागि अत्यावश्यक कानूनहरु निर्माण गरेको बताए ।
उनले कर्णालीमा सीमित स्रोत र साधनकाबिच मन्त्रालयलाई प्राप्त जिम्मेवारी इमान्दारी पूर्वक बहन गरेको बताए । विगतका वर्षको तुलनामा मन्त्रालयबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाई सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरेको मन्त्री जिसीको भनाई थियो ।
संघीयताको मर्मअनुसार संघ सरकारले अधिकार प्रत्यायोजन नगरिदिँदा थप समस्या सिर्जना भएको उल्लेख गर्दै मन्त्री जिसीले प्रदेशलाई आवश्यक पर्ने अत्यावश्यक कानूनहरु निर्माण गरेको बताए । प्रहरीलाई प्रदेशको मातहतमा ल्याउन संघ सरकारले गरिरहेको असहयोगको डटेर सामना गरिरहेको उल्लेख गर्दै मन्त्री जिसीले विभिन्न किसिमका विपद्मा परेका नागरिकको खोज, उद्दार र राहत वितरणमा प्रभावकारी भुमिका खेलको बताए ।
मन्त्रालयको वित्तीय सुधार, कानून निर्माणतर्फ ३ कानून, १४ कार्यविधि, निर्देशिका तथा मापदण्ड, ३६ प्रदेश राजपत्र प्रकाशन, ४० वटा कानूनी विषयमा सहमती प्रदान, शान्ति सुरक्षातर्फ द्वन्द्व पीडित घाइते उपचार तथा राहत, सुरक्षा निकायका भवन निर्माण, विभिन्न सचेतनामुलक कार्यक्रम तथा पत्रकारिताको व्यवसायिक प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको मन्त्री जिसीले बताए ।
मन्त्री जिसीले विपद्मा परी ज्यान गुमाएका १ सय ७१ परिवारलाई ३ करोड ५८ लाख बढी रकम बीमा वापत भुक्तानी, भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका १४ पालिकालाई २ करोड ४५ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको मन्त्री जिसीले बताए ।