
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ११ पिपिराको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलका विद्यार्थीले मुठीदान गरेका छन् । वीरेन्द्र्रनगर वडा नं १२ मा रहेको मानवसेवा आश्रममा पुगेर शुक्रबार विद्यार्थीहरुले मुठीदान गरेका हुन् । विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गराएको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताए ।
सहिद सप्ताह एवम् स्कुलको खेलकुद सप्ताहको अवसर पारेर स्कूलमा प्ले ग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार खाद्यान्न, तरकारीलगायत नगद संकलन गरी खाद्यवस्तु दान गरेको प्रिन्सिपल भण्डारीले बताए । मुठीदान कार्यक्रमका लागि स्कूलबाट हरेक कक्षाका प्रतिनीधि विद्यार्थीहरु माानव सेवा आश्रममा पुगेका थिए ।
विद्यार्थीहरुले लिएको दानलाई मानव सेवा आश्रम सुर्खेती स्वयमसेवक रक्षा मल्लले बुझेकी थिइन् । स्कूलका संस्थापक अध्यक्ष बालदिप कँडेलले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले यस वर्ष पहिलो पटक मानव सेवा आश्रममा विद्यार्थीलाई मुठीदान गराएको बताए ।
विद्यार्थीहरुलाई सडक मानवले भोग्नु परेको समस्या बुझ्न र सहयोगी भावना विकास गराउन विद्यालयले हरेक बर्ष यस्ता कार्यक्रम गर्ने अध्यक्ष कँडेलको भनाइ छ ।दान गर्नुअघि विद्यार्थीले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।
