
फाइल तस्विर
रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ८ नम्बर वडाको चारगाउँमा सुन्तलाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । चारगाउँको गराली र गुङ्गमा अत्याधिक मात्रामा सुन्तला फलेको छ, तर सुन्तला बारीमै झरेर कुहिने डर छ । गाउँ सडक सञ्जालमा नजोडिएका कारण सुन्तलाले बजार पाउन सकेको छैन ।
सदरमुकाम रुकुमकोटदेखि भौगोलिक दुरीले टाढा रहेको चारगाउँमा सडक अझै पुगेको छैन । सडक नपुग्दा त्यहाँको हिउँदे नगदे बाली सुन्तला र बर्खे नगदे बाली स्याउ बोटमै झरेर कुहिने गरेको छ । रुकुम पूर्वको यो एक मात्र ठाँउ हो जहाँ माघ , फागुन लागिसक्दा पनि सुन्तला बोटमै छ्न् । तर यहाँका किसान भने सुन्तला नबिक्दा चिन्तित छन् ।
आफूले गरेको खेती खेर जाने होकि भन्ने डर भएको पुथा ८ गरालिका कृषक प्रेम मल्लले बताए । उनी भन्छन्, ‘सुन्तला उत्पादन गरेर मात्र के गर्नु सुन्तलाले बजार पाउँदैन । सदरमुकामसम्म लैजान सडक बाटो छैन, घोडा खच्चडबाट लगौं भने आम्दानी जति खच्चड ढुवानी गर्दा नै ठिक्क हुन्छ ।’
अर्का कृषक अर्जुन बुढाको पनि गुनासो उस्तै छ । विगत ६/७ वर्षदेखि सुन्तला खेतीमै लागेका बुढा भन्छन्, ‘हामी उत्पादन जति पनि गर्न सक्छौं, तर सरकारले व्यवस्थापनका लागि पहल गरिदिनुपर्यो । यहाँ फागुन पहिलो सातासम्म पनि सुन्तला बोटमै रहन्छन् । यदि स्थानीय सरकारले चिस्यान केन्द्रको व्यवस्थापन गरिदिए बेमौसममा पनि अर्गानिक सुन्तला पाउन सकिन्छ ।’
पुथा उत्तरगङ्गा गाउपालिकाको ७ नम्बर वडाको पनि पीडा उस्तै छ । बारीमा फलाएको तरकारी तथा फलफूलले बजार नपाउँदा किसान मारमा पर्ने गरेको पुथा ७ का स्थानीय पञ्च बहादुर केसीले बताए । तीनै तहका सरकार मिलेर सडक बनाइदिए यहाँको उत्पादन सदरमुकामसम्म लगेर बिक्री गर्न पाइने केसीको भनाइ छ ।