सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार भ्रष्टचार र कमिसनतन्त्रमा उदृत भएको आरोप लगाएका छन् । आइतवार पत्रकार सम्मेलनमार्फत नेता कँडेलले प्रदेश सरकार योजना निर्माणमा अपारदर्शिता, भ्रस्ट्राचार र कमिसनतन्त्रमा उद्दत भएको बताएका हुन् ।
‘वास्तवमा यस्तो परिस्थितिको निर्माण हुनु आफैमा दुःखद छ र अझैपनि सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ’, उनले भने । ‘योजना निर्माणमा अपारदर्शिता व्याप्त छ, भ्रष्टाचार, कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उदृत छ ।’
उनले प्रदेश सरकारको एक वर्षे अवधि उपलब्धीमुलक नभएको बताए । नेता कँडलले एक वर्षको अवधीमा सरकारको कार्य प्रगति न्यून र निराशाजनक भएकाे तर बेरुजु भने उच्च रहेको बताए । नेता कँडेलले प्रदेश सरकारको गलत कामकारवाहीका कारण जनप्रतिनिधि र व्यबस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति पैदा भएको आरोप लगाए ।
सरकारले नेतृत्व गरेको पार्टीका तर्फबाट डोल्पाको मुड्केचुला गाउँपालिकामा रगतको औंठा छाप लगाएर काम गरिएको आरोप लगाए । ‘त्यहाँ, योजनामा बस्ने भए पार्टीमा आउ’ भनेर काम भएका छन्, नेता कँडेलले भने । डोल्पामा कोटेसन हावी भएको उनले अर्को आरोप लगाए । ‘नीति छलेर काम कारवाही भएका छन् ।’ नेता कँडेलले भने, ‘मूल्य तिरेका योजना छन् । एक दुई जना त आईसके । हामीले यति रुपैँया तिरेका छौं भनेर । अझ कति आउने हुन् ।’
प्रतिपक्ष दल रचनात्मक ढंगबाट प्रस्तुत भएपनि एकातिर सहमति गरेर अर्को बाटो हिड्ने प्रवृति विकराल बनेको नेता कँडेलले बताए ।