२०८३ जेठ २७ , बुधबार

चरिचरनको लागि जुम्लाबाट अछाम पुगेका भेडाहरु धमाधम मर्न थाले

औषधीसहितको पशु चिकित्सक टोली जाँदै


फाइल तस्बिर

सुर्खेत । जुम्लाबाट चरिचरणको लागि अछाम पुगेको भेडामा पखाला र पेट फुल्ने समस्या देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँडा पठाउने भएको छ । जुम्ला जिल्लाका र हिमा गाउँपालिकाका भेडापालक किसानहरुले अछामकाे गैडाँडामा चरिचरणको लागि लगेका १ हजार २ सय भेडाहरु मध्ये ५० भेडा पखाला लाग्ने पेट फुल्ने समस्याका कारण  मरेको हुँदा प्रदेश सरकारले औषधीसहितको पशु चिकित्सक टोली गैडाँडा पठाउने भएको हो ।

भेडा पालक किसान नन्द बहादुर बमले फोन मार्फत र अर्का किसान सुशिल बमले लिखित निवेदनमार्फत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मालाई समक्ष भेडाहरु बिरामी पर्न थालेको जानकारी दिएका गराएका थिए । तत्काल समस्या समाधानको लागि कर्णाली प्रदेश सकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँडा पठाउन लागेको मन्त्री शर्माले जानकारी दिए ।

भेडामा देखिएको रोगको पहिचानसहित समस्या समाधानका औषधीसहितको टोली अछाम पठाउन मन्त्रालयका सचिव, पशु विकास महाशाखा प्रमुखहरूलाई निर्देशन दिए । सोही अनुसार कर्णालीको टोली सोमबार (आज) गैटाँडा जाँदै छ । ‘भेडा पालक कृषकहरूले फोन गर्ने बित्तिकै सुदूरपश्चिम सरकारको कृषि मन्त्रालयका कृषि सचिवसँग हामीले समन्वय ग¥यौँ,’ उनले भने, ‘समन्वय पछि प्रभावित क्षेत्रमा सुदूरपश्चिमबाट पनि पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा जाँदै छ ।’

दुवै प्रदेशका टोली त्यहाँ पुगेर भेडाहरूमा देखिएको समस्या समाधान गरिने प्रदेश सचिव डाक्टर नरहरि प्रसाद घिमिरेले बताए । जुम्लाका भेडा पालक कृषक बमले भने, ‘हाम्रो आयस्रोतको एक मात्रै माध्यम भेडा पालन हो, भेडा पालन व्यवसायमा अज्ञात रोगको समस्या देखियो,’ उनले भने, ‘हामीले खबर गरेपछि प्रदेश सरकार हाम्रो समस्याप्रति चिन्तित भयो, खुसी लाग्यो ।’

उनका अनुसार प्रत्येक वर्ष भेडा चराउन अछाम लिने गरेको र अहिलेसम्म यस्तो समस्या कहिल्यै आएको थिएन । मंसिरको महिना चरिचरनको लागि जुम्लाबाट हिँडेका भेडाहरू पुस  ६ गते अछाम पुगेका थिए । त्यहाँ पुग्ने बित्तिकै भेडामा समस्या देखिन थालेको उनले बताए ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार