
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोटमा दुई प्रहरी जवानमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँफिकोट ४ का २८ वर्षीय लक्षमण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट ५ का २२ वर्षीय कैलास पुरी र वडा नम्बर ६ का एक जना बालक रहेका छन् ।
उनीहरुको कुटपिटबाट इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका ३ स्यार्पुमा ड्युटिमा रहेको बेला युवाहरुको कुटपिटबाट उनीहरु घाइते भएका थिए ।
बाँफिकोट गाउँपालिका ५ का ३४ वर्षीय हिरालाल केसीसँग बाँफिकोट गाउँपालिका ३ का २७ वर्षीय गोबिन्द बिकलगायतको सामान्य विवाद भएको र पछि ती युवाहरुले केसीलाई पछ्याउँदै स्यार्पु गएको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ ।
उनीहरुले प्रहरीमाथि हातपात गर्दै ढुंगा समेत प्रहार गका थिए । आक्रमणमा परि घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उपचारका लागि आइतबार राति जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।