२०८३ जेठ २७ , बुधबार

बाख्रा पालनबाट सबैको मन जित्दै जीतबहादुर !

वार्षिक कमाउँछन् १५ लाख बढी रकम


बराहताल गाउँपालिकाका किसान जीतबहादुर शाही

कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका किसान जीतबहादुर शाहीले बाख्रा पालनबाट लाखौँको आम्दानी गरिरहेका छन् । बराहताल गाउँपालिका–८ जयपुर बस्ने ४७ वर्षका शाहीले तीन बाख्राबाट सुरु गरेको व्यवसाय अहिले खोर नै भरिभराउ छ । जिल्ला सदरमुकामबाट केही किलोमिटर टाढा रहेको जितपुरमा उनले बाख्रा पालन गरिरहेका छन् ।

उनले घाँसको नर्सरी, माछा पालन समेत गरेका छन् । उनी भन्छन्, ‘मैले सुरुमा तीन वटा बाख्राबाट व्यवसाय सुरु गरेको हो । अहिले मेरो खोरमा १ सय ६३ बाख्रा छन्, १६ वटा खसी, तीन वटा बोका छन्। पाठा पाठीले खोर नै भरिभराउ छन्। मैले बाख्रा पालन भन्दा पहिले उनले एउटा खोटो कम्पनीमा काम गर्थे ।

त्यसको कार्यालय सुर्खेतमा थियो, काम गरेको चार वर्षपछि खोटो कम्पनीको कार्यालय बाजुरामा स्थापना हुने र सबै काम गर्ने कर्मचारी बाजुरा जाने निर्णय भयो। आफू बाजुरा गए  छोराछोरी बिग्रिन्छन् भनेर नगएको उनी बताउँछन् । बरु, घरमै बसेर बाख्रा पालन गर्ने सोचेर बाख्रा पालन सुरु गरेको उनको भनाइ छ।

अहिले महिनामै चार÷पाँच बाख्रा बेच्ने गरेको उनले बताए। ‘कहिले त धेरै बाख्रा बिक्री हुन्छन्,उनी भन्छन्, ‘त्यो अनुसारको उत्पादन पनि भइरहन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा गरे हुन्छ भन्ने सोच थपिएको उनले बताए । उनी बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मे हम्मे पर्ने गरेको बताउँछन् ।

‘बाख्रा पालनबाट केही घाटा छैन’, उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । खसी र ब्याउने बाख्राका लागि भने बिहान बेलुका भने घाँस काट्नुपर्छ । तर बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भएकाले स्याल र बाघ लाग्ने गर्दछ ।’ उनले बाख्राको ग्वालो (चरिचराउन गर्ने व्यक्ति) आफ्नै घरको मान्छे भएको बताए ।

अहिले उनका परिवारलाई खसी बोका तथा बाख्रा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर खोरमै आएर बाख्रा लिने गरेका छन् । उनका बाख्रा दैलेख र सुर्खेत जिल्लामा विक्री हुन्छन् भने खसी काठमान्डौ, पोखरासम्म बिक्री हुने गरेको उनी बत्ताउँछन् ।

‘बाख्रा व्यवसायबाट फाइदा राम्रै छ, कहिले धेरै हुन्छ, बजारको समस्या छैन, खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु परेको छैन,’ उनले भने । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने शाही राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही पनि नपाएको उनी गुनासो गर्छन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी ।

उनका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले सहयोग गर्नुपर्छ । ‘म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला,’ उनी भन्छन् । अहिले विष्टले बाख्राबाटै वार्षिक १५ लाखभन्दा बढी कमाउँदै आएका छन् ।

‘मैले बाख्रा पालेको लामो समय भइसक्यो”, उनले भने, ‘पहिलेको आम्दानी घर खर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट उनले पाँच जना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिइरहेका छन् । उनले आफ्नो जेठो छोरालाई कोरियन भाषा, माइलो छोरोलाई एच ए र कान्छो छोरालाई कक्षा नौ मा पढाइरहेका छन् ।

यस्तै जेठी छोरीलाई भेटेरिनरी जेटिए र कान्छी छोरीलाई स्नातक तह पढाइरहेका छन् । उनका दुई छोरा र एक छोरी वीरेन्द्रनगरमा छन् भने एक छोरा वड्डीचौर छन् । जेठी छोरी भने घरमै भएको उनले सुनाए । बाख्रा पालन व्यवसायबाटै राम्रो आम्दानी भएकाले रोजगारीका लागि अन्यत्र धाउनु नपर्ने उनको भनाइ छ । उनले नेपाली दाजुभाइहरू सकेसम्म नेपालमै बसेर जुनसुकै व्यवसाय गर्दा पनि सफल हुन सक्ने बताएका छन् ।

 उनले यो पेसाबाट निकै नै सन्तुष्ट भएको दाबी गर्दै भने, ‘म एउटा गरिब परिवार र बिकट गाउँमा हुर्केको मान्छे । पढाइ गरेर जागिर खानुपर्छ भन्ने सोच भए पनि आर्थिक अवस्था कमजोर भएकाले पढाइलाई बिचमै ब्रेक गर्नुपर्‍यो ।’ उनले कहिलेकाहीँ यो व्यवसायदेखि दुःख पनि लाग्ने गरेको गुनासो पोखे । ‘समयमा सुत्न पाइँदैन, भोक, निन्द्रा भन्न पाइँदैन, यही कुरामा दुःख लाग्छ, तर मलाई यही कुरामा खुसी पनि लाग्ने गरेको छ ।’

उनले बाख्रा पालन र घाँस नर्सरीको लागि भने पानीको समस्या भएको दुखेसो पोखे । उनले भने, ‘यहाँ पानीको निकै समस्या छ, बाख्राका लागि घाँस चाहिन्छ, घाँसलाई सिँचाइ गर्ने पानी हुँदैन, त्यसको लागि आफ्नै लगानीमा एउटा पोखरी निर्माण गरेको छु, तर पनि राम्रोसँग पानी पुग्दैन ।’

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार