
रमिशा बुढा
सुर्खेत । जुम्लामा एक बालिकालाई बेपत्ता बनाएको आरोपमा वडा सदस्यविरुद्ध उजुरी परेको छ । यही माघ १० गतेबाट १४ वर्षकी बालिका बेपत्ता बनाइएको भन्दै वडा सदस्य पाल्ती रावलविरुद्ध उजुरी दर्ता भएको हो । ती बालिकाकी आमा बिस्नकली बुढाले वडा सदस्यविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।
बेपत्ता हुनेमा सिंजा गाउँपालिका ६ जोडु गाउँकी १४ वर्षया रमिशा बुढा रहेकी छन् । उनकी आमा बिस्नकलीका अनुसार उनी भेडा चराउन गएको बेलादेखि नै बेपत्ता छिन् । रमिशालाई सिंजा गाउँपालिका ५ गोरा गाउँकी महिला वडा सदस्य पाल्ती रावलको समूहले बेपत्ता पारेको आमा बिस्नकलीको आरोप छ ।
उनी भन्छिन्, ‘आफ्नो वनमा भेडा चराउन किन ल्याएको भन्दै आरोप लगाएका छन् ।’ तीन वटा भेडा खोसेर छोरीलाई बेपत्ता पारिएको आमा बिस्नकलीले बताइन् । उनले नजिकैको शनिगाउँ प्रहरी चौकीमा छोरी बेपत्ता पारिएको भन्दै किटानी जाहेरी दिएकी छन् ।
उनका अनुसार रमिशा माध्यमिक विद्यालय जोडुमा कक्षा ७ मा अध्ययनरत छिन् । शनिगाउँ प्रहरी चौकीका हवल्दार सुरेश प्रसाद भट्टले बालिकाकी आमाले दुई जनाको नाममा निवेदन दिएको बताए । मुनुकली रावल र पाल्ती रावलको नाममा पीडितकी आमाले निवेदन दिएको उनले बताए ।
जिल्लामा रहेको महिला तथा बालबालिका सेललाई खोजतलासका लागि पत्राचार गरेको पनि उनले जानकारी दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बालिका बेपता भएको भन्ने पत्र आएको बताए । उनले भने, ‘यसका लागि खोजतलासीको प्रक्रिया अगाडि बढाइएको छ । यस विषयमा सम्बन्धित पक्षलाई समेत प्रहरीले पत्र काटिसकेको छ ।’